काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको समापनपछि पार्टी झन् एकताबद्ध भएको बताएका छन्।
पोष्टबहादुर बोगटीको नवौँ स्मृति दिवसका अवसरमा पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उनले पार्टीभित्रका शंका, विवाद, र मतभेदलाई समाधान गरी पार्टीलाई एकताबद्ध गर्ने र जनतामा जाने विषयमा गम्भीर छलफल भएको बताए।
अध्यक्ष दाहालले भने, “स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माको धारणा लिएर पार्टी विभाजनको आशंका गरिएको थियो। तर, बैठकको अन्त्यसम्म आइपुग्दा शर्माले पार्टी विभाजनको कुनै उद्देश्य नरहेको र पार्टी एकताको पक्षमा आफू स्पष्ट रहेको बताएका छन्।” उनले देशभरका नेता कार्यकर्तालाई पार्टी विभाजनको आशंका मुक्त हुन आग्रह गरे।
बैठकमा नेता शर्माले आफ्नो धारणा लिखित रूपमा प्रस्तुत गरेको भए पनि फरक मत नरहेको स्पष्ट पारिएको अध्यक्ष दाहालले बताए। उनले थपे, “शर्माले पार्टी नेतृत्वलाई स्थापित गर्नकै लागि आफ्नो धारणा राखेका हुन्, फरक मतको कुनै प्रश्न छैन, र उहाँको दस्ताबेजलाई समेत समेटेर पार्टी अगाडि बढ्नेछ।”
पार्टी एकताबद्ध भएर अगाडि बढ्ने भन्दै दाहालले पार्टी स्थायी समिति बैठकमा विभाजनको चर्चा निराधार भएको स्पष्ट भएको बताए।
अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्धको अभियान चलाउँदै गर्दा आफूलाई सरकारबाट हटाइएको दाबी गरे। उनले भने, “सरकारमा रहँदा सुशासन र सामाजिक न्यायको सवालमा महत्वपूर्ण काम भएका थिए, तर भ्रष्टाचारविरुद्ध काम गरिरहँदा हामीलाई सरकारबाट हटाइयो।”
पोष्टबहादुर बोगटीको योगदानको स्मरण गर्दै दाहालले बोगटीको व्यक्तित्व र चरित्रले समाजलाई नै प्रभावित पार्ने क्षमता रहेको बताए। “बोगटीले पार्टी नेतृत्वमा महत्वपूर्ण भूमिका खेले, र पार्टीलाई अप्ठ्यारो अवस्थामा सफलतापूर्वक अघि बढाउनुभयो,” उनले भने।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीलाई सांगठनिक रूपमा एकताबद्ध र वैचारिक रूपमा क्रान्तिकारी बनाउन सांस्कृतिक रूपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने बताए। उनले पार्टी नेतृत्वलाई बलियो बनाउँदै लैजानेमा सिंगो स्थायी समिति एकमत भएको उल्लेख गरे।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीभित्रका वैचारिक असमझदारी र अन्तरसंघर्षलाई सही ढंगले विश्लेषण गरेर पार्टीलाई झन् एकताबद्ध बनाउन बोगटीले खेलेको भूमिका अतुलनीय रहेको बताए।
प्रतिष्ठानका अध्यक्ष वर्षमान पुनले दिवंगत नेता बोगटीको योगदानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतिष्ठान क्रियाशील रहेको र आगामी दिनमा वैचारिक विषयलाई कार्यकर्ता र जनतामा लैजाने योजना रहेको जानकारी दिए। – रासस
- Jigyasa media