गण्डकी, कर्णाली र मधेसका केही स्थानमा भारी वर्षा, काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा जारी
जिज्ञासा नेपाल | मौसम समाचार
काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भागमा भइरहेको वर्षा शनिबार पनि जारी छ। गण्डकी, कर्णाली र मधेस प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
नेपाल मौसम विज्ञान विभागका मौसमविद् अनुप नेपालका अनुसार शनिबार बिहान देशका धेरै स्थानमा वर्षा भइरहेको छ। अन्य प्रदेशको तुलनामा कोसी र मधेसमा समग्र वर्षा कम भए पनि मधेसका केही स्थानमा भने भारी वर्षा भइरहेको छ।
मौसमविद् नेपालले दिउँसो २ देखि ३ बजेपछि मौसम क्रमशः सुधार हुँदै जाने अनुमान गरेका छन्। त्यसअघि भने वर्षा हुने र केही समय रोकिने क्रम जारी रहन सक्नेछ। काठमाडौं उपत्यकाको मौसममा पनि दिउँसोपछि मात्रै केही सुधार देखिने उनको भनाइ छ।
कहाँ कस्तो रहनेछ मौसम?
विभागका अनुसार शनिबार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश स्थानमा बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशमा भने सामान्यतया बादल लाग्ने पूर्वानुमान छ।
कोसी, मधेस र वाग्मती प्रदेशका धेरै स्थानमा तथा गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा र हिमपातको सम्भावना छ।
कोसी, मधेस र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्नेछ।
राति हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
शनिबार राति देशभर सामान्यतया बादल लाग्ने विभागले जनाएको छ। हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्नेछ। कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न, पहाडी क्षेत्रमा पहिरो जान र सडक तथा यातायात प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ।
-
Jigyasanepal