काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रतिवादी दीपक भट्टसँग सम्बन्धित मुद्दाको सक्कलै मिसिल (फाइल) झिकाउन आदेश दिएको छ।
मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतमा विचाराधीन सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सम्पूर्ण मिसिल सर्वोच्चमा झिकाउन आदेश दिएको हो।
वरिष्ठ अधिवक्ता ईश्वर भट्टराईका अनुसार विष्णु पौडेलविरुद्ध सोही मुद्दामा पूरक अभियोग दर्ता गर्ने तयारीका साथ अनुसन्धान भइरहेकाले सर्वोच्चले मूल मिसिल नै झिकाउन आदेश दिएको हो।
सुनुवाइका क्रममा पौडेल पक्षका कानुन व्यवसायीले मूल मुद्दामा विष्णु पौडेलविरुद्ध कुनै कसुर पुष्टि हुने आधार नरहेको दाबी गरेका थिए। उक्त दाबीको सन्दर्भमा सर्वोच्चले मिसिल अध्ययन गर्ने निर्णय गर्दै रिटको अर्को सुनुवाइ बिहीबारका लागि तोकेको छ।
पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले असार १० गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। यसअघि असार ११ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सम्बन्धित निकायलाई कारण देखाउ आदेश जारी गर्दै रिट निवेदनअनुसार आदेश किन जारी गर्न नपर्ने हो भन्ने आधार पेश गर्न निर्देशन दिएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विष्णुप्रसाद पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। अब सर्वोच्चले झिकाएको मिसिलको अध्ययनपछि रिटमाथिको थप कानुनी प्रक्रिया अघि बढ्नेछ।
-
Jigyasanepal