लुम्बिनी लायन्स र चितवन राइनोजले एक–एक अंक बाँडे; साँझको खेल पनि अन्योलमा
जिज्ञासा नेपाल | खेलकुद समाचार
काठमाडौं । निरन्तर वर्षाका कारण त्रिवि क्रिकेट मैदानको खेलस्थल जलमग्न भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारका लागि निर्धारित पहिलो खेल रद्द भएको छ।
शनिबार दिउँसो १२ः३० बजे सुरु हुने तालिका रहेको खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुने तय थियो। तर वर्षाका कारण मैदानमा पानी जमेर खेल सञ्चालन गर्न सक्ने अवस्था नबनेपछि नेपाल क्रिकेट संघ (क्यान)ले खेल रद्द गर्ने निर्णय गरेको हो।
खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्। जितका लागि मैदान उत्रिने तयारीमा रहेका दुवै टोलीले खेल नै खेल्न नपाई अंक बाँड्नुपरेको छ।
यसैबीच, शनिबारकै दोस्रो खेल साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच हुने तालिका छ। तर निरन्तर वर्षा र मैदानमा जमेको पानीका कारण उक्त खेल पनि हुने–नहुने अन्योल बढेको छ।
मैदानमा जमेको पानी हटाउने प्रयास भइरहेको भए पनि मौसम प्रतिकूल रहेकाले दोस्रो खेल सञ्चालन हुने सम्भावना कम देखिएको छ। अन्तिम निर्णय भने मैदानको अवस्था र मौसममा निर्भर रहनेछ।
यसरी वर्षाले एनपीएलको खेल तालिकामै असर पारेपछि प्रतियोगिताको रोमाञ्चकता हेर्न प्रतीक्षारत दर्शकसमेत निराश भएका छन्।
-
Jigyasanepal