काठमाडौँ, फागुन १९ — आगामी बिहीबार (२१ फागुन) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको छ। राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार अवधि सोमबार मध्यरात १२:०० बजेसँगै औपचारिक रूपमा समाप्त भएको हो।
निर्वाचन आयोगले फागुन ४ गतेदेखि प्रचारप्रसारका लागि समय दिएको थियो। अब मतदान सम्पन्न नभएसम्म कायम रहने ४८ घण्टे मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ।
के–के गर्न पाइँदैन?
मौन अवधिमा सभा, जुलुस, भाषण, छलफल, समीक्षा, मत माग्ने गतिविधि तथा निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले हिँडडुल गर्न पाइँदैन। एसएमएस, फेसबुक, भाइबर लगायत सामाजिक सञ्जाल वा विद्युतीय माध्यमबाट मत माग्न वा प्रचार सामग्री प्रसारण गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
उम्मेदवार वा राजनीतिक दलको पक्षमा प्रचार हुनेगरी समाचार वा सूचना प्रकाशन तथा प्रसारण गर्न पनि निषेध गरिएको छ। मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्री, निर्वाचन चिह्न वा ब्यानर मौन अवधि सुरु हुनुअघि हटाइसक्नुपर्ने आचारसंहितामा उल्लेख छ।
कडा कारबाहीको चेतावनी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने आर्थिक कारोबार वा अन्य गतिविधि गरेको पाइए उम्मेदवारी खारेजीमात्रै होइन, छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कारबाही हुन सक्छ। आयोगले निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमाथि ‘शून्य सहनशीलता’ नीति अवलम्बन गरिने स्पष्ट पारेको छ।
किन महत्त्वपूर्ण छ मौन अवधि?
मौन अवधिले मतदातालाई स्वच्छ, स्वतन्त्र र दबाबरहित वातावरणमा विवेकपूर्ण ढङ्गले मतदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रचारका क्रममा आएका विभिन्न आश्वासन, दबाब र प्रभावबाट टाढा रहँदै ‘फ्रेस’ मनस्थितिमा निर्णय लिन सक्ने समयका रूपमा यस अवधिलाई लिइन्छ।
निर्वाचन व्यवस्थापनका दृष्टिले पनि यो अवधि संवेदनशील मानिन्छ। मतदान केन्द्रको अन्तिम तयारी, सुरक्षा व्यवस्था सुदृढीकरण, मतदाता लाइन व्यवस्थापन तथा आवश्यक बन्दोबस्त यही अवधिमा गरिन्छ।
विश्वका विभिन्न मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्ने प्रचलन छ। नेपालमा लागू गरिएको ४८ घण्टे मौन अवधिले भयरहित र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
अब मतदाताले आफ्नो विवेक र रोजाइअनुसार योग्य उम्मेदवार छनोट गर्ने घडी नजिकिँदै छ। लोकतन्त्रको निर्णायक क्षणमा शान्त वातावरण कायम राख्नु सबै पक्षको साझा जिम्मेवारी बनेको छ।
-
Jigyasanepal