काठमाडौं । मनसुनी गतिविधि सक्रिय रहेकाले आज देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमानअनुसार केही स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा मधेससहित वाग्मती, गण्डकी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।
दिउँसो देशभर सामान्यतया बदली रहने विभागको अनुमान छ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका हिमाली भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुनसक्नेछ।
यस्तै, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
तराईतर्फ मधेस प्रदेशसहित वाग्मती र गण्डकीका धेरै स्थान, कोसी र लुम्बिनीका केही स्थान तथा सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।
रातिको समयमा पनि देशभर सामान्य बदलीको अवस्था रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात तथा पहाडी क्षेत्रका केही र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमै रहेको छ। वर्षाका कारण केही क्षेत्रमा सडक तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।
-
Jigyasanepal