काठमाडौँ, असार ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। गएराति काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
दमलगायत स्वास्थ्य समस्याबाट पीडित खरेल केही दिनअघि उपचारका लागि अस्पताल भर्ना भएका थिए। उपचारकै क्रममा उनको निधन भएपछि नेपाली कांग्रेस वृत्तमा शोक छाएको छ।
वि.सं. २००३ सालमा काभ्रेपलाञ्चोकको खरेलथोकमा जन्मिएका खरेल विद्यार्थी जीवनदेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय थिए। उनले वि.सं. २०२५/०२६ तिर तत्कालीन नेशनल कलेज (हालको शंकरदेव कलेज) मा नेपाल विद्यार्थी संघको इकाइ समितिको सचिवको जिम्मेवारी सम्हाल्दै सक्रिय राजनीतिक यात्रा सुरु गरेका थिए।
लोकतन्त्र स्थापनाका विभिन्न आन्दोलनमा अग्रपंक्तिमा रहेका खरेलले २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/०६३ सालको दोस्रो जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटक–पटक गरी करिब नौ वर्ष जेल जीवनसमेत बिताएका थिए।
नेपाली कांग्रेसका संस्थापक नेता एवं लोकतान्त्रिक आन्दोलनका अगुवा व्यक्तित्वहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई आफ्नो राजनीतिक आदर्श मान्ने खरेल २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए।
सांसद निर्वाचित भएपछि उनले शिक्षा राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रूपमा समेत कार्य गर्दै सामाजिक क्षेत्रका विभिन्न नीतिगत तथा विकासात्मक काममा योगदान पुर्याएका थिए।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिने कार्यक्रम तय गरिएको छ। त्यसपछि दिउँसो १ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
राजेन्द्र खरेलको निधनसँगै नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका एक अनुभवी, संघर्षशील तथा निष्ठावान नेता गुमाएको राजनीतिक वृत्तमा चर्चा गरिएको छ।
-
Jigyasanepal