काठमाडौं । आकस्मिक अवस्थामा घाइते वा बिरामीको ज्यान जोगाउन महत्वपूर्ण मानिने प्राथमिक उपचारबारे जनचेतना फैलाउने उद्देश्यले आज विश्व प्राथमिक उपचार दिवस मनाइँदैछ। यस वर्ष दिवसको मुख्य विषय ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ रहेको छ।
विश्वका विभिन्न मुलुकमा आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाइँसराइ बढिरहेका बेला यात्राका क्रममा मानिसहरूले स्वास्थ्यसम्बन्धी विभिन्न जोखिम सामना गर्नुपर्ने अवस्थालाई ध्यानमा राखेर यस वर्ष प्राथमिक उपचारलाई झटपट बसाइँसराइसँग जोडिएको हो।
नेपालमा पनि बाढी, पहिरो, विपद्, रोजगारी तथा अन्य अवसरका कारण मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम जारी छ। यस्तो यात्राका क्रममा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नहुनु, अपरिचित भूगोल, जोखिमपूर्ण बाटो, भाषिक तथा सांस्कृतिक अवरोध र पर्याप्त स्वास्थ्यसम्बन्धी ज्ञानको अभावले समस्या थप जटिल बनाउन सक्छ।
नेपाल रेडक्रस सोसाइटीका अनुसार बसाइँसराइका क्रममा निर्जलीकरण, अत्यधिक चिसोको असर, कुपोषण, थकान, चोटपटक, डुब्ने जोखिम तथा मानसिक तनावजस्ता समस्या देखिन सक्छन्। कतिपय अवस्थामा हिंसा तथा मनोवैज्ञानिक पीडासमेत भोग्नुपर्ने अवस्था आउन सक्छ।
यस्ता परिस्थितिमा प्राथमिक उपचारको सामान्य ज्ञान र सीपले घाइते वा बिरामीलाई तत्काल सहयोग पुर्याउनुका साथै स्वास्थ्य अवस्था थप बिग्रनबाट रोक्न र जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने रेडक्रसले जनाएको छ।
महामारी, दुर्घटना, प्राकृतिक विपद्, द्वन्द्वलगायत आकस्मिक परिस्थितिमा प्राथमिक उपचारको आवश्यकता झन् बढ्दै गएको छ। हालैको भोटेकोशी बाढीका क्रममा नेपाल रेडक्रसका प्रशिक्षित स्वयंसेवकहरूले प्राथमिक उपचार, मनोवैज्ञानिक प्राथमिक उपचार तथा अन्य मानवीय सेवामार्फत प्रभावितलाई सहयोग गरेका थिए।
नेपाल रेडक्रसले सरकारी निकाय, सुरक्षा संयन्त्र, संयुक्त राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, कूटनीतिक नियोग र निजी क्षेत्रसँग सहकार्य गर्दै प्राथमिक उपचारसम्बन्धी तालिम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
दिवसका अवसरमा रेडक्रसले प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई समुदायस्तरसम्म विस्तार गर्न तथा ‘हरेक घरमा एक प्राथमिक उपचारकर्ता’ भन्ने अभियानलाई प्रभावकारी बनाउन सबैलाई आग्रह गरेको छ। साथै जीवनरक्षाको काममा संलग्न प्राथमिक उपचार प्रशिक्षक तथा स्वयंसेवकप्रति सम्मान र धन्यवाद व्यक्त गरेको छ।
-
Jigyasanepal