काठमाडौं । देशभर मनसुनी गतिविधि कायम रहँदा आज पनि अधिकांश भूभागमा बदलीसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा हुनसक्ने देखिएको छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी, देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
तराईतर्फ लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
राति पनि वर्षाको सम्भावना
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा वा हिमपातको सम्भावना छ।
कास्की र लमजुङमा यसअघि नै धेरै पानी
पछिल्लो २४ घण्टामा कास्की र लमजुङका केही क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। कास्कीको लुम्लेमा १२५.४ मिलिमिटर र लमजुङको फलेनीमा १०९.२ मिलिमिटर वर्षा मापन गरिएको छ।
यस्तै, धादिङ–गोरखा सीमास्थित आरुघाटमा ८७.८ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांक छ।
मौसम विज्ञानअनुसार २४ घण्टामा १० देखि ५० मिलिमिटरसम्म वर्षा भए मध्यम, ५० देखि १०० मिलिमिटर भारी, १०० देखि २०० मिलिमिटर धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यान दिई आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
-
Jigyasanepal