मुस्ताङ । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असर, स्थानीय तहको भूमिका र वातावरणीय संरक्षणका विषयमा छलफल गर्न ‘घरपझोङ जलवायु सम्मेलन–२०८३’ आजदेखि मुस्ताङमा सुरु हुँदैछ। सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम छ।
सम्मेलनमा सहभागी हुन देशभरका स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि मुस्ताङ पुगेका छन्। आयोजकका अनुसार ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सोमबार साँझसम्म मुस्ताङ आइपुगेका थिए।
स्थानीय समुदाय सम्मेलनको व्यवस्थापनमा
आगन्तुकको व्यवस्थापनका लागि घरपझोङ गाउँपालिकाका पाँचवटै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब तथा विभिन्न संघसंस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले बताइन्।
सम्मेलनमा सहभागीका लागि बिहानको खाजा, खाना तथा दिउँसोको खाजा कार्यक्रमस्थलमै आमा समूहले व्यवस्थापन गर्नेछन्। साँझको खाना र आवास भने गाउँपालिकाले तोकेका स्थानीय होटलमा व्यवस्था गरिएको छ।
पाहुनाको स्वागतदेखि स्वास्थ्य सेवासम्म तयारी
सम्मेलनलाई लक्षित गर्दै गाउँपालिकाका सडक तथा बस्तीलाई स्थानीय कला र संस्कृतिको झल्को दिने सामग्री तथा ध्वजापताकाले सजाइएको छ। मुख्य तथा भित्री सडकमा सडकबत्ती जडान गरी रातको समयमा समेत आकर्षक बनाइएको छ।
आगन्तुकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ। खानेपानी, विद्युत्, इन्टरनेट, सवारी पार्किङ र ट्राफिक व्यवस्थापनमा समेत आवश्यक तयारी गरिएको आयोजकले जनाएको छ।
जोमसोमस्थित कभर्डहलमा आयोजना हुने सम्मेलनका लागि स्टेज, ध्वनि प्रणाली, ब्यानर तथा अन्य सजावटको काम पूरा गरिएको गाउँपालिकाका सूचना अधिकारी विकास सज्यालले जानकारी दिए।
‘रोइरहेको पृथ्वी’ मुख्य आकर्षण
सम्मेलनस्थलमा जलवायु परिवर्तनको असरबारे सन्देश दिन २८ फिट अग्लो ‘रोइरहेको पृथ्वी’को आकृति राखिएको छ। वातावरणीय संकट र जलवायु परिवर्तनबाट पृथ्वीले भोगिरहेको असरलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्न यस्तो संरचना तयार पारिएको हो।
मुस्ताङका स्थानीय कृषि उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि सम्मेलनस्थलमा ५० भन्दा बढी प्रदर्शनी स्टल समेत राखिएका छन्।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा जलवायु परिवर्तनबाट हिमाली तथा स्थानीय क्षेत्रमा परेको प्रभाव, सम्भावित समाधान र स्थानीय तहको भूमिकाबारे छलफल हुने आयोजकले जनाएको छ। सम्मेलनको अन्त्यमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका विषय समेटिएको घोषणापत्र जारी गर्ने तयारी गरिएको छ।
-
Jigyasanepal