काठमाडौं – आगामी महिना अजरबैजानको बाकुमा आयोजना हुने जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप–२९) मा नेपालले हिमालदेखि समुद्रसम्मका जलवायु सम्बन्धी मुद्दालाई सशक्त रुपमा प्रस्तुत गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
शुक्रबार वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जलवायु सम्मेलनमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा उठाएका जलवायु न्यायसम्बन्धी विषयलाई कोप–२९ मा प्रभावकारी ढंगले उठाउने प्रतिबद्धता जनाए। साथै, वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को हालै सम्पन्न बैठकले नेपालको जलवायु दृष्टिकोणलाई कोप–२९ मा प्रस्तुत गर्ने निर्णय गरेको जानकारी दिइएको छ।
सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले नेपालको हिमाली क्षेत्रले विश्व तापमानलाई सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेको सन्दर्भमा नेपालले कार्बन उत्सर्जन गर्ने मुलुकहरूबाट उचित क्षतिपूर्तिको माग गर्नु विश्व हितमा हुने बताएका छन्।
- Jigyasa media