✍️ | जेठ २५, २०८२, आइतबार
स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिल मैदानमा जारी आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले पहिलो पराजय भोगेको छ। घरेलु टोली स्कटल्यान्डसँग नेपाल २ रनले पराजित भएको हो। हारको पीडामा डुबेको नेपालले जितको नजिक पुगेर पनि रोमाञ्चक अन्त्यमा खेल गुमाउन पुग्यो।
यसअघि नेपालले यसै सिरिजमा स्कटल्यान्डलाई पहिलो खेलमा १ विकेटले तथा दोस्रो खेलमा नेदरल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो। आजको हारसँगै नेपालको लगातार जितको यात्रा टुटेको छ भने स्कटल्यान्ड भने लगातार दोस्रो जितको स्वाद चाख्न सफल भएको छ। अब नेपालले सिरिजको अन्तिम खेल मंगलबार नेदरल्यान्डसँग खेल्नेछ।
रोमाञ्चक खेलको अन्त्यमा नेपाल चुक्यो
३२४ रनको ठूलो लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ३२१ रन मात्रै बनाउन सक्यो। खेलको अन्तिम ओभरसम्म पुगेको संघर्षमा नेपाललाई ६ बलमा ७ रन आवश्यक थियो। तर, ओभरको तेस्रो बलमा करण केसी १० बलमा १७ रन बनाएर क्याच आउट भए। अन्तिम बलमा ललित राजवंशी बोल्ड आउट हुँदै नेपालको इनिङ्स २ रनले छोटियो।
भिम र आरिफको साझेदारीले पुनर्जीवन दिएपनि…
नेपालको सुरुआत खराब रहँदा ७.१ ओभरमै ३ विकेट गुमाएर ३४ रनमा संघर्ष गरिरहेको अवस्थामा भिम सार्की र आरिफ शेखले चौथो विकेटका लागि ९४ रनको महत्वपूर्ण साझेदारी गरे। भिमले ८५ बलमा ८ चौका प्रहार गर्दै ७३ रन बनाए भने आरिफले ५५ बलमा ५ चौका सहित ३९ रन बनाए।
सोमपाल–दिपेन्द्रको विस्फोटक प्रदर्शन
सातौं विकेटका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरिले १०७ रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जितको सम्भावनातर्फ उन्मुख गराएका थिए। दिपेन्द्रले ५१ बलमा २ चौका सहित ५६ रन बनाए भने सोमपालले ४४ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ६७ रन जोडे।
स्कटल्यान्डको पारी: कप्तान बेरिङटन र लिस्कको दबदबा
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनायो। कप्तान रिची बेरिङटनले १ सय १४ बलमा ६ चौका र ४ छक्का सहित १०२ रन बनाए। माइकल लिस्क ६२ बलमा १२ चौका र ३ छक्का सहित ९६ रनमा अविजित रहे। चार्ली टियरले ६८ रनको योगदान गरे।
नेपालका करण केसी र दिपेन्द्र सिंह ऐरिले समान २ विकेट लिए भने ललित राजवंशीले १ विकेट लिए।
नतिजा र सन्देश
नेपालले खेल हारेपनि समग्र प्रदर्शन साह्रै संघर्षपूर्ण रह्यो। केही चुक्का क्षणहरूले जित हातबाट छुट्यो। अब मंगलबारको खेलमा नेपालले जित्दै सिरिज सुखद अन्त्य गर्ने लक्ष्य लिएको छ। हारले भले टुगिंएको होस् तर आत्मबल अझै उच्च छ।
💔 हारले सिकाउँछ, हिम्मतले जिताउँछ – जय नेपाल! 🇳🇵
-
Jigyasanepal