Breaking News
पाँच प्रदेशमा बादल लाग्ने, कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने    ||     नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||    

सहमति अनुसार अब केपी शर्मा ओलीले बन्ने सरकारको नेतृत्व गर्ने : विश्वप्रकाश शर्मा

  •   २ वर्ष अघि | २६ असार २०८१, बुधबार

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार दिने उद्देश्यले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिएको बताएका छन् ।

झापामा आज आयोजित कार्यक्रममा उनले पटक–पटक हुने सरकार परिवर्तनले मुलुकमा अस्थिरता सिर्जना गरेकाले त्यसलाई रोक्न दुई दल एकमत भएको बताएका हुन् ।

महामन्त्री शर्माले दुवै दलको सहमति अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारको नेतृत्व गर्ने स्पष्ट पारे । ‘एमाले नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले काँध हाल्छ’, उनले भने, ‘त्यही सरकारले मुलुकको वर्तमान संकट समाधान गर्नेमा हामी आशावादी छौँ ।’

स्थानीय क्षेत्रको विकास निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय जरुरी रहेको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य शर्माले फरक आस्था र विचारबाट निर्वाचन जितेर आए पनि साझा प्रतिनिधि बनेर जनताको काम गर्न लाग्नुपर्नेमा जोड दिए ।

उनले त्यस अवसरमा मेचीनगर–५ स्थित सिर्जना चोकमा मेचीनगर सहलगानी आयोजनाअन्तर्गत चार सय ५० घनमिटरको ओभरहेड ट्यांकीको आज शिलान्यास गरे ।

उक्त आयोजना अन्तर्गत मेचीनगरका काँकडभिट्टा, धुलाबारी, चारआली र बाहुनडाँगी क्षेत्रमा खानेपानीका विभिन्न परियोजना सञ्चालन भइरहेका काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले जानकारी दिए ।

ओभरहेड ट्यांकीसहितको परियोजना मूल्य अभिवृद्धि करसहित कूल रु १० करोड ४८ लाख १९ हजार लागतमा निर्माण हुन लागेको हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ग्लोबल दिपेश जेभी काठमाडौंले काम गरिरहेको छ ।

कूल लागतमध्ये रु एक करोड ३१ लाख काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र रु नौ करोड १७ लाख १७ हजार संघीय सरकारले व्यहोर्ने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

यहाँ चार सय ५० घनमिटर र दुई सय २५ घनमिटरका गरी दुईवटा ओभरहेड ट्यांकी, चारवटा बोरिङ, दुईवटा जेनेरेटर, दुईवटा ट्रान्सफर्मर, दुईवटा ट्रिटमेन्ट प्रणाली, ३५ किलोमिटर पाइपलाइन विस्तार र कार्यालय भवन निर्माण गरिने उनले बताए ।

शिलान्यास समारोहमा संविधानसभा सदस्य रविन कोइराला, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेलगायतले परियोजनाको काम निर्धारित समयमै गुणस्तरीय रूपमा हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

बुद्धशान्तिमा झोलुंगे पुल शिलान्यास

महामन्त्री शर्माले आजै बुद्धशान्ति गाउँपालिकास्थित टिमाइ खोलामा रु पाँच करोड ९८ लाख ८१ हजारको लागतमा बन्न लागेको झोलुंगे पुलको शिलान्यास गरेका छन् । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने पुल चार सय ७६ मिटर लामो हुनेछ ।

उनले पुल बनेसँगै स्थानीयवासीले उत्पादन गरेका कृषिउपजको बजारीकरण र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । प्रतिनिधिसभा सदस्य शर्माले पुल निर्माणपछि बुद्धशान्तिका वडा नं ६ र ७ लाई मात्र नभई इलामको रोङ गाउँपालिका वडा नं ५ र ६ का बासिन्दालाई समेत सहयोग पुग्ने उल्लेख गरे ।– रासस

  • RSS

थप