फाइल तस्बिर
काठमाडौं । देशका अधिकांश भू–भागमा आज मौसम आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू–भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ। ती प्रदेशका अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। अन्य क्षेत्रमा भने उल्लेख्य वर्षाको सम्भावना देखिएको छैन।
यस्तै, बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भू–भागमा आंशिक बदली रहनेछ। देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
यसैबीच, तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहीबार बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने सम्भावना छ। बिहानको समयमा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाएको छ।
-
Jigyasanepal