जिज्ञासा नेपाल । २०८१ भदौ १९ - एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को चुनावमा एमालेले कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने स्पष्ट पार्दै पार्टीलाई एकल बहुमत ल्याउन एक्लै लड्ने घोषणा गरेका छन्।
अध्यक्ष ओलीले मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनदेखि नै पार्टी एक्लै लड्ने बताए। उनले मंगलबार बसेको पोलिटब्युरो बैठकमा पार्टीका नेताहरूलाई संगठनलाई थप बलियो बनाउन र चुनावी तयारीमा जुट्न निर्देशन दिए। "एमालेले ०८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन, एक्लै लड्छ," उनले भने, "पार्टीलाई बलियो बनाउन जुटौं।"
ओलीले पार्टीलाई एकताबद्ध बनाउँदै राजनीतिक र सांगठानिक कार्यलाई चुस्त बनाउनुपर्नेमा जोड दिए। प्रदेश कमिटीहरूलाई सक्रिय गराउँदै योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका ओलीले, "ग्राउन्डमा योजना बनाएर अघि बढ्नुपर्छ, बनेका योजनाहरूलाई कार्यान्वयनमा लैजानुपर्छ," भनेका छन्।
बैठकमा अध्यक्ष ओलीले सरकारको कामकारबाही राम्ररी चलिरहेको र जनताको केन्द्रबिन्दुमा राखेर काम भइरहेको जानकारी दिए। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बंगलादेश र श्रीलंकाको उदाहरण दिएर दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै, "सरकारलाई अस्थिर बनाउन माओवादीको चाहना पूरा हुन दिँदैनौं," भने।
बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए, जसमा बुधबारको बैठकमा विस्तृत छलफल हुने बताइएको छ।
- Jigyasa media