काठमाडौं – आसन्न स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित गर्न निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार यो कार्यतालिकामा निर्वाचनका सबै प्रक्रियाहरूलाई समयबद्ध रूपमा समेटिएको छ।
आयोगले असोज ९ गते राजनीतिक दल दर्ता सम्बन्धी सूचना प्रकाशित गर्नेछ, जसपछि असोज १० देखि १६ सम्म दलहरू दर्ता गर्न सकिनेछ। असोज २० गते दलहरूको दर्ता स्वीकृत गरिने कार्यक्रम छ।
त्यसैगरी, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड र आचारसंहिता तयार गर्ने काम अघि बढ्नेछ। मतदाता शिक्षा, तालिम, निर्वाचन सामग्री र जनशक्ति व्यवस्थापनका कार्यक्रमहरू पनि यो अवधिमा सञ्चालन हुनेछन्।
निर्वाचन प्रक्रियाअन्तर्गत कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ भने कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ, र मंसिर १६ गते उपनिर्वाचनका लागि मतदान हुनेछ।
- Jigyasa media