कात्तिक २, २०८१ काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन गरेको आरोपमा पक्राउ परेका छन्। कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले लामिछानेलाई काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट नियन्त्रणमा लिएको हो।
लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले पक्राउ गरेको हो, जसलाई कास्की प्रहरीले अनुसन्धानका लागि अनुरोध गरेको थियो। उनलाई स्थलमार्गबाट कास्की लैजाने तयारी भइरहेको छ।
सहकारी ठगी प्रकरणमा लामिछाने सहित अन्य १८ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो, जहाँ सहकारीको रकम ग्यालेक्सी टीभी मार्फत अपचलन गरिएको आरोप छ। संसदीय समितिले समेत लामिछानेलाई दोषी ठहर गर्दै प्रतिवेदन बुझाएपछि पक्राउको प्रक्रिया अघि बढाइएको हो।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीसमेतलाई यसअघि पक्राउ गरिएको थियो। प्रमुख आरोपी जीबी राई भने हालसम्म फरार छन्, जसविरुद्ध इन्टरपोलले रेड नोटिस जारीगरेको छ।
- Jigyasa media