काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक भेला बोलाउँदै उपत्यकाका कार्यकर्ताहरूलाई केन्द्रीय कार्यालय बनस्थलीमा उपस्थित हुन आग्रह गरेको छ। रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले मेसेज सर्कुलेट गर्दै पार्टीका सबै सदस्यलाई तुरुन्त कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन्।
केन्द्रीय कार्यालयमा पुगेका एक कार्यकर्ताका अनुसार, सभापतिबाट आएको मेसेजपछि कार्यकर्ताहरू कार्यालयतर्फ भेला हुँदैछन्। सभापति रवि लामिछानेसहित केन्द्रीय नेताहरू कार्यालयमा उपस्थिति रहेको जानकारी पनि आएको छ।
यस आकस्मिक भेलाको कारण भने सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले सभापति रवि लामिछानेलाई कारबाही सिफारिस गरेपछि पक्राउ पर्ने आशंका भएको बताइएको छ। रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रहेको बेला सहकारी ठगी प्रकरणमा मुछिएको कारणले पार्टीले यो आकस्मिक भेला डाकेपछि चर्चामा रहेको छ।
यस्तै, गोर्खा मिडियाका तत्कालीन सञ्चालक, पूर्वडीआईजी छविलाल जोशीलाई आइतबार प्रहरीले पक्राउ गरेपछि पार्टीले सत्ता गठबन्धनले षड्यन्त्र गरिरहेको आरोप लगाएको छ। तर, सहकारी ठगी प्रकरणमा सभापति लामिछानेको संलग्नताबारे रास्वपाले भने कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
- Jigyasa media