काठमाडाैं — राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप–२९’ मा सहभागी भई आज स्वदेशका लागि प्रस्थान गरेका छन्। उनले कतारको दोहा हुँदै नेपाल फर्कने कार्यक्रम छ।
बाकुस्थित हैदर अलिएभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका स्वास्थ्यमन्त्री तेमुर मुसाएभले राष्ट्रपति पौडेललाई बिदाई गरे। उनी अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभको निमन्त्रणामा गत सोमबार बाकु पुगेका थिए। भ्रमणमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसहित नेपाल सरकारका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
राष्ट्रपति पौडेलले मंगलबार सम्मेलनको उच्चस्तरीय सत्रमा ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्दै हिमालको सुरक्षा विश्वकै सुरक्षा भएको विषयमा विश्व समुदायलाई आव्हान गरे। पर्वतीय क्षेत्रको जलवायु संरक्षण आवश्यक रहेको र यसले सम्पूर्ण पृथ्वीको पर्यावरणमा असर पार्ने उल्लेख गर्दै उनले निम्न तटीय देशहरूमा पनि संकट बढ्ने चेतावनी दिए।
साथै, राष्ट्रपति पौडेलले गणतन्त्र माल्दिभ्सका समकक्षीसँग भएको भेटमा जलवायु परिवर्तनसँग जुध्न द्विपक्षीय सहकार्यको आवश्यकता रहेको बताए। सम्मेलनमा नेपालले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’ विषयमा एक उच्चस्तरीय सत्र पनि सञ्चालन गर्यो। यस सत्रमा उनले जलवायु समस्यामा पीडित समुदायको समस्या समाधान र गरिबी निवारणका कार्यक्रमलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए।
अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपेक्षा राख्दै, राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग नेपालले भोगिरहेका जलवायु असरहरूको न्यूनीकरणका लागि विकसित देशहरूबाट अनुदान सहयोगको मागसमेत गरे।
- Jigyasa media