थाहानगर — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था स्थापनाका लागि नयाँ आन्दोलन सुरु गर्ने बताएका छन्। शनिबार मकवानपुरको थाहा नगरपालिकामा आयोजित योङ कम्युनिस्ट लिग (वाइसीएल) को नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले पाँच वर्षको स्थायी सरकार सुनिश्चित नगरेसम्म बेथिति र भ्रष्टाचार अन्त्य नहुने दाबी गरे।
प्रचण्डले मुलुकभर माओवादी र आफू प्रतिको जनताको भरोसा कायमै रहेको भन्दै नयाँ विकल्पको खोजी भइरहेको महसुस भएको बताए। "नयाँ जिम्मेवारीले नयाँ आन्दोलनको आवश्यकता देखिएको छ, र भ्रष्टाचारविरुद्धको अभियानमा लाग्नेछौं," उनले भने। साथै, आफूमा अझै ऊर्जा बाँकी रहेको र जनतासँगको सम्बन्ध बलियो बनाउन माओवादीले कांग्रेस र एमालेसँगको सहकार्यबाट उत्पन्न त्रुटिहरू सच्याउन नागरिकसँग माफी माग्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।
उनले कांग्रेस र एमालेप्रति जनताको असन्तुष्टि बढिरहेको र विपत्तिका बेला पीडितको साथमा रहेर सरकारले चासो नदिएकोप्रति जनताको आक्रोश देखिएको बताए। प्रचण्डले अब प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा सहित मुलुकभर आन्दोलन छेड्ने संकेत गरे, जसले नयाँ राजनीतिक स्थिरताको आधार निर्माण गर्ने विश्वास व्यक्त गरे।
- Jigyasa media