काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनबाट फुटेका सबै शक्तिहरू फेरि एकै ठाउँमा आउने विश्वास व्यक्त गरेका छन्।
नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले वामपन्थी, समाजवादी, र फुटेर गएका माओवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउन निरन्तर वार्ता चलिरहेको जानकारी दिए। उनले यो वार्ता छिट्टै सफल हुने दाबीसमेत गरे।
अध्यक्ष दाहालले माओवादी पार्टीलाई पुनः २०६४ सालजस्तो जनमत प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई जनताको बिचमा आत्मसमीक्षा गर्न र पुरानो जनमतलाई पुनः प्राप्त गर्न केन्द्रित भएर अभियान सञ्चालन गर्न आह्वान गरे। उनले २०६४ मा माओवादीलाई मतदान गर्नेहरूको सूची र तिनका सन्ततिको विवरण तयार गर्न निर्देशन समेत दिए।
पूर्वप्रधानमन्त्री दाहालले सरकारबाट बाहिरिँदा आफू विजयी भावमा रहेको र हाल सरकारमा गएकाहरूमा त्यस्तो भाव नदेखिएको टिप्पणी गरे। साथै, उनले समानुपातिक समावेशी मूल्य र मान्यतालाई कसैले पनि हटाउन नसक्ने र त्यसलाई थप समृद्ध बनाइने प्रतिबद्धता व्यक्त गरे।
संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रियामा नुवाकोटका सांसद एवं कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै, उनले नुवाकोटलाई सधैँ पार्टीले महत्व दिएको र आगामी दिनमा पनि त्यस्तै भूमिका दिने आश्वासन दिए।
कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री हितबहादुर तामाङले आफ्नो पार्टीको सरकार भएको बेला जनपक्षीय काम भएको र त्यसैकारण सरकारबाट हटाइएको जिकिर गरे। कार्यक्रममा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति सुवेदी, राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी, राधिका तामाङलगायतको उपस्थिति रहेको थियो।
- Jigyasa media