काठमाडौं — बाढी र पहिरोका कारण दुई सयभन्दा बढीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले तीन दिनको लागि राष्ट्रिय झन्डा झुकाउने निर्णय गर्दै सो कुरा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए।
मृतकका परिवारलाई जनही दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ। यसका लागि अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ छुट्याउने योजना बनाएको छ। मन्त्री गुरुङका अनुसार, मन्त्री परिषद्का सदस्यहरूको एक महिनाको तलब दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरिएको छ।
सरकारले राहत र उद्धारका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गर्न आह्वान गरेको छ। बाढी र पहिरोमा घाइते भएका व्यक्तिहरूलाई निशुल्क उपचार गर्न र यसमा कुनै कमी नआउने सुनिश्चितता गरिने बताइएको छ। साथै, सडक, खानेपानी, दूरसञ्चार, विद्युत् लगायतका संरचनामा पुगेको क्षतिबारे सम्बन्धित मन्त्रालयले प्रतिवेदन बुझाउने निर्णय गरिएको छ।
मन्त्री गुरुङले प्रभावित जिल्लाहरूमा अनुगमन टोली गठन गर्न गृह मन्त्रालयलाई निर्देशन पनि दिएका छन्।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि पत्रकार सम्मेलन गर्ने भएका छन्। सोमबार संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्किएका ओलीले मंगलबार विशेष पत्रकार सम्मेलनमार्फत देशमा गएको प्राकृतिक विपत्तिका विषयमा जानकारी दिनेछन्।
- Jigyasa media