न्युयोर्क: प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आइपुगेका छन्। शुक्रबार राति स्थानीय समयअनुसार, उनी अमेरिका पुगेका हुन्।
जोन एफ. केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल, महावाणिज्यदूत चक्र सुवेदी, तथा अन्य अधिकारीहरूले स्वागत गरे।
प्रधानमन्त्री ओलीले आगामी असोज १० गते महासभामा सम्बोधन गर्ने कार्यक्रम छ। यसबाहेक, उनी आइतबार नेपाली संघसंस्थाहरूले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन्। महासभामा सहभागी अन्य राष्ट्रका प्रतिनिधिहरूसँग साइडलाइन वार्ता पनि हुने अपेक्षा गरिएको छ।
असोज ६ गते, प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय हितका विषयमा भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल-भारत सम्बन्धलाई थप प्रगाढ बनाउन र समस्याहरू समाधान गर्ने सन्दर्भमा दुवै नेताबीच छलफल हुने बताइएको छ।
साथै, प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको अध्यक्षको हैसियतले महासभामा विशेष सम्बोधन पनिगर्नेछन्।
- RSS