काठमाडौँ: नेकपा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौँको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने घोषणा गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको केन्द्रीय कार्यालयमा आयोजित बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका प्रमुखहरूको बैठकमा यस निर्णयको जानकारी दिएका हुन्।
सभाको मुख्य उद्देश्य सरकारका गलत निर्णयहरूको विरोध गर्दै ध्यानाकर्षण गराउनु रहेको माओवादी केन्द्रले जनाएको छ। पार्टीले विपद् व्यवस्थापनमा सरकारको असंवेदनशीलता, बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, पुनर्निर्माण र पुनर्स्थापनामा देखिएका समस्याहरूप्रति विरोध जनाउने बताएको छ।
त्यस्तै, माओवादी केन्द्रले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि, बढ्दो महँगी, कालाबजारी नियन्त्रण, र सरकारी संस्थाहरूमा देखिएको राजनीतिक हस्तक्षेपविरुद्ध प्रतिवाद गर्दै सहकारी, मिटरब्याज, र लघुवित्त पीडितहरूको पक्षमा आवाज उठाउने योजना गरेको छ।
यस खबरदारी सभाले सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिहरूप्रति जनचेतना बढाउने उद्देश्य लिएको माओवादी केन्द्रले जनाएको छ।
-
Jigyasanepal