काठमाडौं, १९ मंसिर २०८१
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सैनिक शासन (मार्शल ल) लागू गर्ने निर्णय खारेज गरेका छन्। विरोध र संसदको दबाबका कारण राष्ट्रपति योलले आफ्नो निर्णय केही घण्टामै परिवर्तन गरेका हुन्।
मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देशको सुरक्षा र उत्तर कोरियाबाट उत्पन्न खतराको सामना गर्न मार्शल ल लागू गर्नु परेको बताए। ‘देशविरोधी तत्वलाई नियन्त्रण गर्नका लागि यो कदम उठाउनु अपरिहार्य थियो,’ उनले भनेका थिए। तर, सैनिक शासन कहिलेसम्म लागू रहने भन्ने स्पष्ट गरेका थिएनन्।
राष्ट्रपति योलको घोषणासँगै संसद भवन र वरपर सैनिक परिचालन गरिएको थियो। सैनिकले संसद भवन प्रवेशमा रोक लगाएको भन्दै प्रतिपक्षी दलले तीव्र विरोध जनाउँदै सडकमा प्रदर्शन गरेका थिए।
प्रतिपक्षीले राष्ट्रपति योलको कदमलाई असंवैधानिक भन्दै फिर्ता लिन दबाब दिएको थियो। त्यसै क्रममा नेशनल एसेम्बलीले मध्यराति सत्रमा मार्शल ल खारेज गर्न प्रस्ताव पारित गरेको थियो।
प्रतिक्रिया स्वरूप, राष्ट्रपति योलले अर्को विशेष सम्बोधन गर्दै संसदको आग्रहलाई मान्य गर्दै मार्शल ल हटाउने निर्णय लिएको घोषणा गरे। उनले भने, "मैले नेशनल एसेम्बलीको अनुरोधलाई सम्मान गर्दै सेनालाई फिर्ता बोलाउने निर्णय गरेको छु।"
यो घटनाले दक्षिण कोरियामा राजनीतिक तनाव थप चर्किएको छ। तर, राष्ट्रपति योलको कदमले सरकार र संसदबीचको सहमति कायम गर्न केही हदसम्म मद्दत गरेको छ।
- Jigyasa media