कात्तिक २, २०८१ काठमाण्डौ ।
प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सम्भावित गिरफ्तारीको विषयमा छलफल भएको छ। बैठकमा रास्वपा नेताहरूले लामिछानेलाई राजनीतिक पूर्वाग्रहका कारण पक्राउ गर्न खोजिएको भन्दै असन्तोष व्यक्त गरेका छन्।
रास्वपा नेता विराजभक्त श्रेष्ठले सभापतिलाई राज्यको दुरुपयोग गरेर पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने चेतावनी दिएका छन्। यद्यपि, सहकारी प्रकरणमा सभापति लामिछानेले कानूनी प्रक्रियामा सहयोग गर्न तयार रहेको बताइएको छ।
माओवादी नेता शक्ति बस्नेतले कानूनी प्रक्रियामा सबैले सहयोग गर्ने तर राजनीतिक आग्रह वा पूर्वाग्रह देखिनु नहुनेमा सचेत रहनुपर्ने बताएका छन्।
बैठकमा सरकारलाई विभिन्न मुद्दामा ध्यानाकर्षण गराउन कार्यदल गठन गरिएको जानकारी पनि दिइएको छ। नेताहरूले विपक्षी दललाई पेल्ने काम भए विशेष अधिवेशन आह्वानका लागि अघि बढ्ने चेतावनी पनि दिएका छन्।
रास्वपा नेता शिशिर खनालले कार्यदलले कार्तिक ५ गते सरकारको ध्यानाकर्षण गराउने र त्यसपछि विपक्षी दलबीच समन्वयनको कामलाई अघि बढाउने बताए। कार्यदलमा माओवादी केन्द्रका शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, र रास्वपाका शिशिर खनाल रहेका छन ।
- Jigyasa media