काठमाडौं । प्रतिनिधिसभाबाट संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक बहुमतले पारित भएको छ। आज बसेको प्रतिनिधिसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ बहुमतले पारित गरिएको हो।
पारित विधेयक अब राष्ट्रियसभामा पठाइनेछ, जहाँबाट पारित भएपछि पुनः प्रतिनिधिसभामा फर्कनेछ। त्यसपछि, सभामुखबाट प्रमाणीकरण भई विधेयक राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि प्रस्तुत गरिनेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कानूनी रूपले कार्यान्वयनमा आउनेछ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ ६ गते दिउँसो १ बजे बस्नेछ। उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूबीच प्रश्नोत्तर कार्यक्रम हुनेछ भन्ने जानकारी सभामुख देवराज घिमिरेले दिएका छन्।
- Jigyasa media