Breaking News
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने    ||     नमोबुद्धको पुरानागाउँ स्वास्थ्य चौकीलाई हुमागाई र लामाको औषधि सहयोग    ||     हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||    

आरजुले सम्हालिन् पररष्ट्र मन्त्रालयको जिम्मेवारी, यस्तो छ उनको जीवनी

  •   २ वर्ष अघि | ३१ असार २०८१, सोमवार

काठमाडौं । नवनियुक्त पररष्ट्र मन्त्री डा आरजु राणा देउवाले नेपाल असंलग्न आन्दोलन र पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएको बताएकी छन् । आज मन्त्रालयमा पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल भूपरिवेष्ठित र दुई ठूला छिमेकी मुलुकबीचमा रहेको उल्लेख गर्दै सबैसँग सन्तुलित सम्बन्ध कायम गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गरिन् ।


उनले भनिन्, ‘पूर्वजहरुको योगदानका कारण मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रता इतिहासदेखि नै सुरक्षित रहेको छ, यसलाई अक्षुण्ण राख्नुपर्ने हामी सबैको दायित्व हो ।’


मुलुकको समृद्धिका लागि पनि परराष्ट्र मन्त्रालयको ठूलो भूमिका रहेको उल्लेख गर्दै उनले आर्थिक कूटनीतिमार्फत त्यसमा कसरी योगदान गर्ने भन्ने बारेमा काम गर्ने बताइन् । नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र प्रतिबद्धता गरेको तथा त्यसको कार्यान्वयनबाट आर्थिक कूटनीतिलाई अघि बढाउन योगदान गर्न सकिनेमा उनले जोड दिइन् ।


नेपाल बाहिर बस्ने नेपालीका लागि धेरै काम गर्नुपर्ने आवश्यकता औल्याउँदै मन्त्री डा राणाले भनिन्, ‘विदेशमा बस्ने नेपालीका लागि अझ राम्रो सेवा कसरी गर्ने भनेर थप काम गर्नेछौँ ।’ उनले सुशासन कायम गर्न, नीतिको प्रभावकारी कार्यान्वयन गर्न र परिणाममुखी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिइन् ।


मन्त्री डा राणाले रुसी सेनामा भर्ना हुन गएका र अप्ठ्यारोमा परेका नेपाली युवाको उद्धार तथा इजरायलमा हमासको आक्रमणको क्रममा वेपत्ता भएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपाल सरकारबाट यसअघि पनि पहल भएको र आफ्नो कार्यकालमा पनि थप पहल गर्ने बताइन् ।


उनले पदबहालीका क्रममा विभिन्न मुलुकका राष्ट्रिय दिवस तथा नेपालसँगका सम्बन्धबारे पठाउनुपर्ने सन्देशलाई व्यवस्थापन गर्नेसम्बन्धी मन्त्रालयको पहिलो निर्णयमा हस्ताक्षर गरिन् ।


नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाको जीवनी


नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नेपाली कांग्रेसकी नेत्री हुन् । उनी नेपाली कांग्रेसको काठमाडौंमा सम्पन्न १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।


डा राणा कांग्रेस पार्टीका तर्फबाट हाल प्रतिनिधिसभाको सदस्य हुन् । संविधानसभा सदस्य समेत रहेकी नेत्री डा राणाले प्रतिनिधिसभामा तेस्रो पटक प्रतिनिधित्व गर्दै छन् । हाल उनी संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति हुन् ।


पहिलो पटक मन्त्री बनेकी डा राणा महिला अधिकार र स्वास्थ्यका क्षेत्रमा काम गर्ने एक सक्रिय अधिकारवादी हुन् । विशेष गरी महिलाको प्रजनन स्वास्थ्य अधिकार, समान नागरिकताको अधिकार, सम्पत्तिको अधिकार, राज्यका हरेक निकाय तथा राजनीतिमा महिलाको समान एवं समतामूलक प्रतिनिधित्व तथा महिला हिंसाविरुद्धको अभियानलगायत मुद्दामा उनले वकालत गर्दै आएकी छन् ।


दक्षिण तथा पूर्वी एसियाका लागि आइयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा दुई कार्यकाल काम गरेको अनुभव डा राणासँग छ । म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) को पहिलो महिला अध्यक्षका रुपमा निर्वाचित डा राणा गरिबी निवारण कोषको बोर्ड सदस्य समेत थिइन् । उनले सुरक्षित मातृत्वसम्बन्धी ‘एलाइन्स’ ह्वाइट रिबन एलाइन्सको अध्यक्ष तथा बोर्ड सदस्यका रुपमा सन् २०१० देखि २०१४ सम्म दुई कार्यकाल पूरा गरेकी छन् ।


पिता विनोद शमशेर जवरा र माता प्रतिभा राणाको कोखबाट विसं २०१८ माघ १३ गते काठमाडौंमा जन्मिएकी डा राणाले भारतको चन्डीगढस्थित पञ्जाव विश्वविद्यालयबाट सन् १९९० मा संस्थागत मनोविज्ञान विषयमा विद्यावारीधि हासिल गरेकी छन् । उनले स्नातकोत्तरको अध्ययन पनि सोही विश्वविद्यालयबाट सन् १९८४ मा मनोविज्ञान विषयमा नै सम्पन्न गरेकी हुन् ।


उनले सन् १९९६ मा सेफ मदरहुड नेटवर्क (सुरक्षित मातृत्व) संस्थाको स्थापना गरी महिलाको प्रजनन तथा समग्र स्वास्थ्य तथा यसका माध्यमबाट महिला अधिकारका विषयमा काम गर्दै आएकी छन् । देशव्यापी कार्यसंयन्त्र रहेको सो संस्थासँग नेपालको ७२ जिल्लाका कम्तीमा पनि सात सय ५० गैरसरकारी संस्था आबद्ध छन् । हाल ५२ जिल्लामा शाखा रहेका सो संस्थामा देशभर करिब ५० हजार नागरिक सदस्य छन् ।


त्यसैगरी, उनी संस्थापक रही सन् १९९२ मा स्थापना गरेको ‘साथी’ नामको अर्को गैरसरकारी संस्थामा आबद्ध भई महिला हिंसाविरोधी अभियानमा सक्रिय छन् । महिलामाथि हुने विभेद तथा विविध प्रकारका हिंसाका विरुद्धमा काम गरी उनीहरुलाई आफ्ना हक अधिकारप्रति जागरुक गराई महिलालाई सशक्तीकरण गर्ने साथी संस्थाको उद्देश्य रहेको छ ।


यो संस्थाले नेपालको दूरदराजसहित सुगम क्षेत्रका महिलाविरुद्ध हुने हिंसाको अध्ययन गरी निराकरणका लागि राज्यसम्बद्ध निकायसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यमा उनी आफैँ सक्रिय रही देशका विभिन्न जिल्ला तथा क्षेत्रमा पुगेर महिलाविरुद्धको हिंसा र महिलाको प्रजनन अधिकारबारे अध्ययन गरी महिला अधिकार र महिला सशक्तीकरणका क्षेत्रमा समर्पित भएकी छन् ।


उनी गुणस्तरीय शिक्षाका पक्षमा वकालत गर्ने सक्रिय राजनीतिकर्मी हुन् । विभिन्न कलेजको संस्थापक तथा अध्यक्ष रही नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्ने काममा पनि उनको सक्रिय सहभागिता छ । उनका कैयौँ अनुसन्धानमूलक प्राज्ञिक लेख र पुस्तक प्रकाशित छन् ।– रासस

  • RSS

थप