त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे देखी खेल शुरु भएको छ, डीआरएस प्रणाली र स्तरोन्नति गरिएको मैदान यस संस्करणका आकर्षण
काठमाडौं । नेपालमा क्रिकेटको लोकप्रिय घरेलु प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज सोमबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिताको उद्घाटन खेल आज साँझ ५ बजे त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरु भैरहेको छ। प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी क्यानले आइतबार पत्रकार सम्मेलनमार्फत दिएको थियो।
यस संस्करणमा प्रतियोगितालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन विभिन्न सुधार गरिएको आयोजकले जनाएको छ। सबै खेल सञ्चालन हुने त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गरिएको छ भने खेलका निर्णयलाई थप विश्वसनीय बनाउन डिसिजन रिभ्यु सिस्टम (डीआरएस) पनि लागू गरिएको छ।
यसपटक सहभागी टोलीहरूले अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव हासिल गरेका विदेशी खेलाडीसमेत भित्र्याएका छन्। विदेशी तथा नेपाली खेलाडीको सहभागिताले प्रतियोगिताको प्रतिस्पर्धा र दर्शकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।
तेस्रो संस्करणमा आठ टोली सहभागी छन्। करिब एक महिनासम्म चल्ने प्रतियोगितामा सहभागी टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
उद्घाटन खेलमै गत संस्करणका विजेता र उपविजेताबीच प्रतिस्पर्धा हुने भएकाले लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सको खेललाई विशेष चासोका साथ हेरिएको छ। दुवै टोलीले प्रतियोगिताको सुरुआत जितबाट गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
-
Jigyasanepal