काठमाडौँ । नव नियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आज आफ्नो पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि भण्डारीले मन्त्रालयमा पदभार सम्हालेका हुन्।
यसअघि पनि विसं २०७९ चैत १२ गते श्रममन्त्री नियुक्त भएका भण्डारी १३औँ पटक मन्त्रीको जिम्मेवारीमा छन्। पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले वैदेशिक रोजगार क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
“वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसङ्गति हटाउन मैले अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरुलाई निरन्तरता दिनेछु,” उनले भने।
मन्त्री भण्डारीले देशभित्र रोजगारको सुनिश्चिता गर्दै वैदेशिक रोजगारको बाध्यता अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले प्रत्येक पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’ बनाउने योजनामा जोड दिने बताए।
“अहिले जुन स्थितिमा यो सरकार आएको छ, चुनौतीहरु छन्। यस अवस्थामा हामीले कुनै किसिमका नाटक र स्टन्ट गर्ने छुट छैन,” उनले भने, “हामीले इमान्दारिता र अध्ययन नगरी, प्रतिफल दिन नसक्ने काम गर्यौँ भने त्यो हाम्रो असफलता हुन्छ।”
- Jigyasa media