काठमाण्डौ ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको मामिलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित तीन जनासँग प्रहरीले प्रारम्भिक सोधपुछ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मासहितको टोलीले काठमाडौंमा आएर पूर्वगृहमन्त्री रास्वपाका सहमहामन्त्री विपिन आचार्य र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग पनि सोधपुछ गरेको हो।
प्रहरीले रवि लामिछानेको नाम उल्लेख गरेर परेको पूरक जाहेरीपछि सोधपुछ थालेको थियो। १६ माघ २०८० मा बचतकर्ताले लामिछानेविरुद्ध पूरक जाहेरी दिएका थिए, जसमा सूर्यदर्शन सहकारीको रकम लामिछानेको नाममा रहेको गोर्खा मिडिया प्रालिमा लगिएको र ऋण लिएको आरोप लगाइएको थियो। लामिछानेसहित तीनै जनाले सहकारी ठगी प्रकरणमा संलग्नता अस्वीकार गरेका छन्।
प्रहरी स्रोतका अनुसार, प्रारम्भिक सोधपुछमा लामिछानेले सहकारीको कुनै रकम नलिएको र आफू यसको हिस्सेदार नभएको बताएका छन्। सहकारीको १ करोड रुपैयाँ लामिछानेको नाममा ३१ असार २०७८ मा निकासा गरिएको भेटिएको थियो। पछि उक्त ऋण फर्स्योट भएको थियो। यसै विषयमा प्रहरीले लामिछानेसँग सोधपुछ गरेको हो।
सहकारी ठगी प्रकरणमा रास्वपाका सहमहामन्त्री विपिन आचार्य र ग्यालेक्सी टेलिभिजनका पूर्वसंस्थापक छविलाल जोशीसँग पनि प्रहरीले बयान लिएको छ। आचार्य गोर्खा मिडिया नेटवर्कका क्रिएटिभ डाइरेक्टर थिए, र उनको नामबाट ६ पुस २०७८ मा सूर्यदर्शन सहकारीको १ करोड रुपैयाँ गोर्खा मिडियामा गएको थियो। जोशी पनि ग्यालेक्सी टेलिभिजनका लगानीकर्ता र गोर्खा मिडियामा साझेदार थिए।
प्रहरीले जोशीको घरमा रहेको नेचर हब्र्स इन्टरनेसनल प्रालिको कार्यालयमा छापा मारेर सहकारीका तथ्यांक रहेका चारवटा सर्भर समेत बरामद गरेको थियो। साथै, गोर्खा मिडिया तथा ग्यालेक्सी टेलिभिजनको कार्यालयमा पनि प्रहरीले खानतलासी गरेको थियो, तर कुनै ठोस प्रमाण फेला परेको छैन।
सूर्यदर्शन सहकारीको बचत अपचलनको आरोपमा सुरुमा जाहेरी परेका १९ जनामध्ये केहीजना थुनामा रहेका छन् भने केही फरार छन्। सहकारीले बचतकर्ताको १ अर्ब ५० करोड ९० लाख ३० हजार ५०३ रुपैयाँ हिनामिना गरेको आरोप छ।
यस प्रकरणमा पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र र हालका अध्यक्ष थानबहादुर बुढाविरुद्ध ‘रेड नोटिस’ जारी गरिएको छ।
- Jigyasa media