कात्तिक १०, काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा रवि लामिछानेमात्र पक्राउ परेकोमा आपत्ति जनाउँदै, सरकारको यस रवैया गलत रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित खबरदारी सभामा प्रचण्डले सहकारी ठगीमा कांग्रेस र एमालेसँग सम्बन्धित नेताहरूको नाम पनि रहेको भए तापनि उनीहरूलाई नछानबिन गरिएकोमा असन्तुष्टि व्यक्त गरे। उनले सरकारको चालचलनलाई पूर्वाग्रही बताउँदै प्रतिपक्षीहरूलाई मात्र निशाना बनाइएको आरोप लगाए।
प्रचण्डले खबरदारी सभाको उद्देश्य कसैलाई जोगाउन नभई न्याय सुनिश्चित गर्नु भएको बताए। उनले दोषीलाई नछोड्न र निर्दोषलाई नफसाउन आफ्नो अडान कायम राखेको र सहकारी पीडितलाई न्याय दिन सिंहदरबारमा धेरै बैठक गरेको स्मरण गराए।
प्रचण्डले रवि लामिछानेको छानबिनको सन्दर्भमा संसदमा प्रश्न उठेपछि छानबिन समिति गठनका लागि तयार भएको तर हालका प्रधानमन्त्री केपी ओलीले समर्थन नगरेको बताए। उनले रविलाई जोगाउन प्रधानमन्त्री ओलीले नै बाधा पुर्याएको आरोप समेत लगाए।
- Jigyasa media