काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जाने तयारीमा छन्। महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा आयोजना हुनेछ। यस क्रममा २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने "समिट अफ द फ्युचर" मा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार न्यूयोर्क भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालयले भ्रमणको मिति र प्रतिनिधिमण्डलको गठनबारे अन्तिम गृहकार्य गरिरहेको छ। तर, महासभामा भाग लिन प्रधानमन्त्रीको यात्रा पक्का भएको छ।
यसअघि, ओलीले २०७५ असोजमा पनि प्रधानमन्त्रीको रूपमा राष्ट्रसंघ महासभालाई सम्बोधन गरेका थिए। हालै, ३० असारमा पुनः प्रधानमन्त्री भएका ओलीको यो पहिलो विदेश भ्रमण हुनेछ।
- Jigyasa media