Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

एमाले अखिलको आक्रामक कदम : मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दर्ता तयारी

  •   ११ महिना अघि | २१ असोज २०८२, मङ्लबार

काठमाडौं, असोज २१ — देशको राजनीतिक र आन्दोलनात्मक वातावरण तातिरहेका बेला एमाले निकट अखिल (अनेरास्ववियु) ले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाली संस्था’ का अध्यक्ष तथा जेन–जी आन्दोलनका अगुवा भनेर चिनिने सुदन गुरुङविरुद्ध प्रहरीमा औपचारिक जाहेरी दिने निर्णय गरेको छ।

अनेरास्ववियुका महासचिव दीपक धामीका अनुसार आजै जाहेरी लिएर उनीहरू काठमाडौं प्रहरी परिसरमा पुग्ने तयारीमा छन्। उनले भने, “हामी लुटपाट, आगजनी र प्रहरी हत्या जस्ता गम्भीर घटनामा संलग्नहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन जाहेरी दिन लागेका हौं।”

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा देशभर व्यापक प्रदर्शनसँगै अनेक घटनाहरू घटेका थिए। काठमाडौंमा समेत आगजनी, तोडफोड र प्रहरीमाथि आक्रमणजस्ता गतिविधि भएको थियो। ती घटनामा संलग्नहरूविरुद्ध कारबाहीको माग गर्दै एमाले अखिलले औपचारिक रूपमा प्रहरी प्रशासनमा दबाब सिर्जना गरेको हो।

अनेरास्ववियुको यो कदम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नेबारे जारी छलफलसँगै जोडिएको देखिएको छ। जेन–जी आन्दोलनका अगुवाहरू ओली र लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका बेला, उल्टै विपक्षी विद्यार्थी संगठनले आन्दोलन पक्षका प्रमुख पात्रहरूलाई नै कानुनी दायरामा ल्याउने तयारी गर्दै वातावरण झनै जटिल बनाएको छ।

अध्यक्ष सुदन गुरुङ र मेयर बालेन शाह हाल ‘एरेस्ट ओली–लेखक’ अभियानका केन्द्रमा छन्। उनीहरूले आन्दोलनमार्फत पूर्वसत्ताधारी नेताहरूविरुद्ध निरन्तर दबाब दिइरहेका थिए। तर अब विपक्षी विद्यार्थी संगठनले ती आन्दोलनकारीहरूकै ‘आन्दोलनको नाममा हिंसा फैलाएको’ आरोप लगाउँदै कानूनी कारबाहीको माग अघि सारेको हो।

स्रोतका अनुसार प्रहरी प्रशासनले जाहेरी दर्ता गर्ने वा नगर्नेबारे गृह मन्त्रालयसँग परामर्श लिँदैछ। अहिले राजधानीमा सुरक्षा सतर्कता उच्च तहमा पुगेको छ। गृह मन्त्रालयका एक अधिकारीका अनुसार, “राजनीतिक रूपमा दुवै पक्षबाट मुद्दा र प्रतिमुद्दाको तयारी हुँदा अवस्था थप संवेदनशील बन्ने संकेत देखिएको छ।”

यसैबीच, प्रधानमन्त्री कार्की बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल प्रहरीका आईजीपी खापुङ, र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालसँग निरन्तर छलफलमा छिन्। ओली–लेखक पक्राउबारे निर्णय नजिकिँदै गर्दा अब बालेन–गुरुङविरुद्धको नयाँ मुद्दाले सरकारलाई झन् ठूलो दबाबमा पारेको छ।

राजधानीमा अहिलेको राजनीतिक वातावरण अत्यन्त तनावपूर्ण बनेको छ। एकातिर आन्दोलनकारीहरूको ‘न्यायका लागि आन्दोलन’ र अर्कोतिर विपक्षी विद्यार्थी संगठनको ‘कानूनी कारबाहीको माग’ । यी दुई धारबीच राज्य संयन्त्र फँसेको देखिन्छ।

स्रोतको भनाइमा, “अब यो संघर्ष सिर्फ सडक र सामाजिक सञ्जालमा सीमित छैन  यो सिधै न्याय र राजनीतिक अस्तित्वको लडाइँमा प्रवेश गरिसकेको छ।”

  • Jigyasanepal

थप