काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।
प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ अन्तर्गत प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था रहेको छ। यसअघि, सभामुख देवराज घिमिरेले बुधवार प्रमुख सचेतकहरूसँगको छलफलमा प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन पहल गरेका थिए।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी, सांसद डा. तोसिमा कार्कीले हैजा महामारीको सम्भावित स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण, र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने सम्भावना छ। यसै सम्बन्धमा सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।
- Jigyasa media