काठमाडौं, असोज १८ – प्रहरीले राजधानीमा लागुऔषध कारोबार गरिरहेको गिरोहलाई पक्राउ गरेको छ। काभ्रेको भुम्लु गाउँपालिकाबाट काठमाडौंको चमतीमा बस्दै आएका नविन रिजालको कोठामा लागुऔषध बिक्री भइरहेका बेला प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको हो।
प्रहरीले नविनसँगै अनिष महर्जन (२६), अनु तामाङ (२५), केशर स्याङतान (४०), राजेश परियार (२८), र सुवास परियार (२५) लाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट नाइट्राभेट, ट्रामाडोल, स्ट्रागनजस्ता शक्तिशाली लागुऔषधहरूका सयौं पिस र गाँजाको धुलो बरामद गरिएको छ।
प्रहरी वृत्त स्वयम्भुले गोप्य सूचनाका आधारमा गरेको यस अपरेशनमा कुल २९ हजार ७०० रुपैयाँ नगदसहित लागुऔषध बरामद भएको हो। काठमाडौंको अपराध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले यस्तो सफलता हात पारेको छ।
प्रहरीले थप अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाइसकेको जनाएको छ।
- Jigyasa media