काठमाडौँ, असोज ११ । पछिल्लो २४ घण्टामा चितवनसहित देशका विभिन्न स्थानमा अत्यधिक वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनको माडी कल्याणपुरमा सबैभन्दा बढी २२२.४ मिलिमिटर वर्षा मापन भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको माडी कल्याणपुर मापन केन्द्रमा २४ घण्टामा २२२.४ मिलिमिटर वर्षा भएको हो। उक्त केन्द्र आसपासका क्षेत्रमा पनि २०० मिलिमिटरभन्दा बढी वर्षा भएको जनाइएको छ।
त्यस्तै, परासीको बर्दघाटमा २०७ मिलिमिटर, चितवनको मेघौलीमा २०२.८ मिलिमिटर र तनहुँको अत्रौलीटारमा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ।
२०० मिलिमिटरभन्दा बढी वर्षा अति भारी
मौसमविद्का अनुसार २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा त्यसलाई अति भारी वर्षा मानिन्छ।
त्यसैगरी,
१०० देखि २०० मिलिमिटर — धेरै भारी वर्षा
५० देखि १०० मिलिमिटर — भारी वर्षा
भन्ने वर्गीकरण गरिन्छ।
विभागका अनुसार मधेस प्रदेशसहित गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको जनाइएको छ।
आजदेखि मौसममा सुधारको संकेत
पछिल्लो वर्षाका कारण प्रभावित भएको मौसममा आइतबारदेखि क्रमशः सुधार आउने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशमा आकाश खुल्दै जानेछ भने काठमाडौँ उपत्यकाको मौसममा पनि उल्लेख्य सुधार आउने सम्भावना रहेको छ।
-
Jigyasanepal