Breaking News
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||    

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन

  •   ९ घण्टा अघि | ७ असोज २०८३, बुधबार

काठमाडौं, असोज ७ । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ। धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत शर्माको बुधबार साँझ ६ः५० बजे निधन भएको केयूका उपकुलपति विवेक बरालले जानकारी दिएका छन्।

शर्माको पार्थिव शरीर बिहीबार दाहसंस्कार गर्नुअघि काठमाडौंको बालकुमारीस्थित स्कुल अफ म्यानेजमेन्टमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ। त्यसपछि उनको दाहसंस्कार गरिने बरालले बताएका छन्।

आफ्नै नेतृत्वमा स्थापना भएको विश्वविद्यालयमा ६ कार्यकाल उपकुलपति

प्रा.डा. शर्मा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति हुन्। उनले विश्वविद्यालयको नेतृत्व गर्दै ६ कार्यकाल उपकुलपतिका रूपमा काम गरेका थिए। उनकै नेतृत्वमा काठमाडौं विश्वविद्यालय स्थापना भएको थियो।

बेलायतबाट रसायनशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका शर्माले नेपालको प्राविधिक तथा उच्च शिक्षा विकासमा लामो समय योगदान दिएका थिए।

उनी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का संस्थापक निर्देशकसमेत थिए। सीटीईभीटीको संस्थापक निर्देशकका रूपमा उनले देशका विभिन्न भूभागमा प्राविधिक शिक्षाको विस्तारमा काम गरेका थिए।

दुर्गम क्षेत्रसम्म प्राविधिक शिक्षा विस्तार

शर्माले जुम्ला, दोलखाको जिरी र धनकुटा पुगेर प्राविधिक शिक्षा सञ्चालनको सुरुवात गराएका थिए। विद्यालय तहदेखि उच्च शिक्षासम्म शिक्षा क्षेत्रको विकासमा उनको योगदान रहेको छ।

उनले बूढानीलकण्ठ स्कुलको अध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए।

श्रीमती र चार छोरी

प्रा.डा. शर्माको परिवारमा श्रीमती र चार छोरी थिए। उनकी एक छोरी र श्रीमतीको यसअघि नै निधन भइसकेको पारिवारिक विवरणमा उल्लेख छ।

नेपालको प्राविधिक, विद्यालय तथा उच्च शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका शर्माको निधनसँगै शिक्षा क्षेत्रले एक अनुभवी शिक्षाविद् गुमाएको छ। सिन्धुली जिल्लाको चपौलीमा जन्मिनुभएका काठमाडौ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.  शर्माको प्राबिधिक शिक्षामा नेपालको लागि योगदान अतुलनीय रहेको छ ।

  • Jigyasanepal

थप