Breaking News
आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

देश भर डेङ्गु सङ्क्रमणमा बृद्धि

यसरी गर्ने हेरचाह र उपचार

  •   २ वर्ष अघि | ६ साउन २०८१, आइतवार

काठमाडौँ । पछिल्लो समय देशभर लगातार वर्षा भइरहेकोले डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार, ७३ जिल्लामा १,६५७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ।


डा. दाहालले यो वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्नसक्ने र डेङ्गु सङ्क्रमण बढ्नसक्ने बताए। मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गु फैलिएको जानकारी उनले दिए।


सबैभन्दा बढी काठमाडौँ जिल्लामा १९६ जनामा डेङ्गु देखिएको छ। त्यसपछि झापामा १२८ र चितवनमा ९२ जनामा सङ्क्रमण देखिएको छ। वर्षाका बेला पानी सङ्कलन गरि राख्ने, त्यहाँ लामखुट्टे बस्ने र टोक्ने भएकोले डेङ्गु सङ्क्रमण बढेको डा. दाहालले उल्लेख गरे।

 उपत्यकामा डेङ्गु सङ्क्रमण


उपत्यकामा २५५ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। काठमाडौँमा १९६, भक्तपुरमा ३५, र ललितपुरमा २४ जनामा डेङ्गु देखिएको हो। "पानी जम्ने सफा ठाउँमा 'एडिज एजिप्टी र एडिस एल्बोपिक्टस' प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट निस्किएको लार्भा वयस्क भएपछि टोकेर डेङ्गु रोग सार्दछ," डा. दाहालले बताए। डेङ्गु सङ्क्रमण अझै बढ्न सक्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरे।


 बच्ने उपाय


डेङ्गुबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो। घर वरिपरि तथा कार्यस्थलमा सफा पानी जम्न नदिने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै समयमा झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउनेजस्ता कुरामा ध्यान दिनुपर्छ।


सङ्क्रमितको हेरचाह


सङ्क्रमितलाई झुलभित्र मात्र आराम गराउने वा सुताउने, हेरचाहमा खटिँदा पूराबाहुला भएको लुगा लगाउने, लामखुट्टे धूप, कोइला वा लिक्विड बाल्ने, घरभित्र लामखुट्टे छिर्न नदिन झ्याल ढोकामा जाली लगाउने र घर वरपर पानी जम्न नदिने उपाय अपनाउनु पर्ने डा. दाहालले बताए।

 लक्षणहरु


उच्च ज्वरो आउने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता बिमिरा आउने, वाकवाकी लाग्ने तथा बान्ता हुनेजस्ता लक्षण देखा पर्दछन्। एक्कासी उच्च ज्वरो आउने, बान्तामा रगत देखिने, नाक वा गिँजाबाट रगत, रक्तश्राव धेरै, पेट दुखाइ, श्वासप्रश्वासमा समस्या र बेहोस हुनेजस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा जान मन्त्रालयले अनुरोध गरेको छ।

  • Mr. Admin

थप