काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको केही दिनमै म्याच फिक्सिङको ठूलो प्रयास बाहिरिएको छ। खेलाडीसम्म प्रत्यक्ष पहुँच बनाउन खोज्दै ‘रन आउट’ गरिदिए बदलामा एकपटकमा १ करोडदेखि १० करोडसम्म दिन सकिने प्रस्ताव आएको खुलेपछि प्रहरीको सक्रियतामा दुई जना पक्राउ परेका हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले भारतका हरियाणाका दिलप्रित सिंह र बर्दियाकी रेविका सिंह ठकुरीलाई बुधबार साँझ काठमाडौंको गौशाला क्षेत्रबाट पक्राउ गरेको हो। दुवै जनामाथि अहिले थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले पुष्टि गरे।
स्पोन्सरको नाममा नजिकिने योजना
प्रहरीका अनुसार रेविका र दिलप्रित कुनै साधारण दर्शक थिएनन्—दुवैजना भारतबाट नै सट्टेबाजी गराउनका लागि योजनाबद्ध रूपमा नेपाल प्रवेश गरेको तथ्य खुलेको छ।
उनीहरूले विभिन्न टिमका खेलाडीहरूलाई इन्स्टाग्राम र ह्वाट्सएपमार्फत ‘स्पोन्सर’ को नाममा सन्देश पठाउँदै नजिकिन खोजेका थिए।
प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार—
“रेविकाले पठाएको सन्देश धेरै खेलाडीले बेवास्ता गरे, तर एक खेलाडीले भेट्न स्वीकृति दिएका रहेछन्,” अनुसन्धान अधिकृतले भने, “त्यही भेटमै उनले खेल बिगारिदिन १ करोडदेखि १० करोडसम्म प्रस्ताव गरेको भेटिएको छ।”
१० करोडसम्मको ‘रन आउट’ डिल
भेटका क्रममा रेविका र दिलप्रित दुवै उपस्थित थिए। त्यहीँ उनले खेलाडीलाई खुला प्रस्ताव राखे—
पहिलो खेलमा एक पटक रन आउट हुँदा १ करोड
दोस्रो खेलमा पुनः रन आउट नै गरिदिए १० करोड
तर ती खेलाडीले उक्त प्रस्ताव अस्वीकार गरी तुरुन्तै प्रहरीलाई सूचना दिएका कारण दुवैजना पक्राउ परे।
कसरी परे प्रहरीको हातामा?
प्रहरीले कात्तिक ३० गते नै उनीहरू काठमाडौं प्रवेश गरेको थाहा पाएको थियो।
गौशालाको एक होटलमा बस्दै आएका उनीहरू सामाजिक सञ्जालमार्फत खेलाडीहरूको गतिविधि नियालीरहेका थिए।
योजनाबद्ध रूपमा पहिले अनलाइन सन्देश, त्यसपछि स्पोन्सरको नाममा भेट, अनि नगद प्रस्ताव—यसरी फिक्सिङ गर्नेसम्म पुग्ने उनको पुर्खालु तरिका प्रहरीको नोटिसमा परेपछि तत्काल अपरेसन संचालन गरिएको थियो।
बेटिङ समूहको सक्रियता : एनपीएल जोखिममा
नेपालमा ठूला खेल आयोजना हुनेबित्तिकै अन्तर्राष्ट्रिय बेटिङ गिरोह सक्रिय हुने प्रचलन बढ्दो छ।
गत संस्करणको एनपीएलमा पनि प्रहरीले करिब एक दर्जन सट्टेबाज पक्राउ गरेको थियो, जसमा अधिकांश भारतीय नागरिक थिए।
यसै कारण—
नेपाल क्रिकेट संघ (क्यान) ले यो संस्करणमा विशेष सुरक्षा निगरानीका लागि प्रहरीको छुट्टै टोली मैदान र टीम होटलमा परिचालन गरेको छ।
खेलाडी जोगिए, खेल जोगियो
खेलाडीले समयमै प्रहरीलाई खबर नगरेको भए एनपीएलका खेलहरूको विश्वसनीयतामै ठूलो प्रश्नचिह्न उठ्न सक्थ्यो।
यस पटक प्रहरीको तत्परता र खेलाडीको इमानदारीले सामूहिक खेल सुरक्षालाई जोगाएको छ।
एनपीएल अझै धेरै दिन बाँकी छ। यसबीच अन्य गिरोह सक्रिय नहोस्न आयोजक, टोली व्यवस्थापक र सुरक्षा निकाय उच्च सतर्क अवस्थामा छन्।
खेलमैदानमा १० करोडको प्रलोभन पनि असफल
दोस्रो संस्करणको एनपीएल सुरु भएको तीन दिनमै आएको यो फिक्सिङ प्रयास—
नेपालमा पनि अन्तर्राष्ट्रिय माफियाको आँखा क्रिकेटमा परिरहेको स्पष्ट प्रमाण हो।
तर खेलाडीको सत्यनिष्ठा र प्रहरीको संयन्त्रले १० करोडको अवैध डिललाई ठाडै अस्वीकार गर्दै पुनः एकपटक नेपाली क्रिकेटमा सफा खेल संस्कृति कायम भएको सन्देश दिएको छ।
-
Jigyasanepal