काभ्रेपलाञ्चोक- नेकपा एमाले तेमाल गाउँपालिका कमिटीको दोस्रो गाउँपालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट वडा नं. ८ मेच्छे बोज्र्याङका सत्यमान लामा दोङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

शनिबार पोखरीनारायणस्थानमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा तेमाल १ नं. वडा वडा अध्यक्ष समेत रहेका इन्द्र बहादुर अधिकारी, सचिवमा वडा नं. ४ बोल्देफेदिचेका सुरेन्द्र दोङ तामाङ, उपसचिवमा वडा नं. ७ कुरुवास चापाखोरीका खुसराज लामा र वडा नं. ५ पोखरीनारायणस्थानकी लालीमाया तामाङ चयन भएका छन्।
एमाले युवा नेता तथा बागमती प्रदेश कमिटी सदस्य जेनिश लामाका अनुसार कार्यसमितिका अन्य सदस्यहरू पनि तेमालका विभिन्न भूगोल र क्षेत्र समेटेर चयन गरिएका छन्। उनले यसले पार्टीलाई स्थानीय तहमा अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।
अधिवेशनमा तेमालका नौ वटै वडाका स्थानीय नेता, कार्यकर्ता, प्रतिनिधि, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। यसले जुझारु तथा सक्षम नेतृत्व चयन गर्न सहयोग पुगेको आयोजकको भनाइ छ।
यसअघि निर्वाचित अध्यक्ष इन्द्रमान तामाङ जिल्ला कमिटी सदस्यमा मनोनीत भएपछि कार्यवाहक अध्यक्ष सिंह बहादुर दोङले जिम्मेवारी सम्हाल्दै आएका थिए। उनले अधिवेशनमार्फत नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेका छन्।

अधिवेशनको उद्घाटन नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गरेका थिए। कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा संविधानसभा सदस्यद्वय नविना लामा र रेशम लामा, बागमती प्रदेशसभा सदस्य ज्ञान बहादुर तामाङ, एमाले युवा नेता तथा पूर्वमन्त्री चन्द्र लामा, बागमती प्रदेश कमिटी सदस्य इन्द्र तामाङ, जेनिश लामा, काभ्रे जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, अखिल नेपाल किसान महासंघ बागमती प्रदेश कमिटी सदस्य सम्तेन लामा, जिल्ला सल्लाहकार परिषद सदस्य संग्राम तामाङ लगायतको उपस्थिति रहेको थियो।
सोही अवसरमा बोल्दै प्रमुख अतिथि बाँस्कोटाले तेमालको विकासमा स्थानीय निर्वाचित प्रतिनिधिहरूको भूमिका कमजोर देखिएको उल्लेख गर्दै जनताले आफ्ना जनप्रतिनिधिलाई प्रश्न गर्नुपर्ने आवश्यकता औंल्याए। उनले जनप्रतिनिधिहरू जिम्मेवार नभएसम्म स्थानीय स्तरमा विकासले गति लिन नसक्ने धारणा राखे।
- Jigyasa media