काभ्रेपलाञ्चोक ।
नेपाल बौद्धिक परिषद्, काभ्रेपलाञ्चोक जिल्ला समितिले आउँदो वि.सं. २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाभिमानको संरक्षणका लागि ऐतिहासिक अवसर का रूपमा ग्रहण गर्न आम काभ्रेली नागरिकमा अपिल गरेको छ।
परिषद्ले जारी गरेको अपिलमा वि.सं. २०८२ भाद्र २३ मा सुशासन, भ्रष्टाचार नियन्त्रण, योग्यता प्रणालीको सुनिश्चितता तथा सामाजिक सञ्जालको खुलापन जस्ता आम सरोकारका विषय उठाउँदै सुरु भएको आन्दोलन भाद्र २४ सम्म पुग्दा अनपेक्षित रूपमा हिंसात्मक, ध्वंसात्मक र भयावह बनेको उल्लेख गरिएको छ। उक्त घटनाक्रमबाट सिर्जित विशेष परिस्थितिका कारण देश असामान्य अवस्थामै निर्वाचनतर्फ उन्मुख भएको परिषद्को ठहर छ।
अपिलमा भनिएको छ, “यो निर्वाचन कुनै नियमित संवैधानिक प्रक्रिया मात्र नभई, उत्पन्न असामान्य अवस्थालाई जनमतबाट निरुपण गर्ने अत्यन्त विशेष र निर्णायक घडी हो।” परिषद्ले निर्वाचनलाई संघीय लोकतान्त्रिक गणतन्त्रको समयसापेक्ष संस्थागत विकास, नेपाली स्वाभिमान र राष्ट्रियताको सुदृढीकरण तथा पुनरुत्थानवादी शक्तिहरूको वैधानिक व्यवस्थापन गर्ने अवसरका रूपमा बुझ्न आग्रह गरेको छ।
देशभरझैँ काभ्रेपलाञ्चोक जिल्लामा पनि निर्वाचनको माहोल दिनप्रतिदिन उत्कर्षमा पुगेको उल्लेख गर्दै परिषद्ले “दानमध्ये महादान” मानिने मतदानमा सहभागी हुन सम्पूर्ण बालिग काभ्रेली नागरिकलाई आह्वान गरेको छ। विवेकपूर्ण, सचेत र सक्रिय मतदानबाट निरङ्कुश सोचको पुनरावृत्ति रोक्न सकिने परिषद्को धारणा छ।
अपिलमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जहानियाँ राणाशासन, पञ्चायती निरङ्कुशता र दशकौँ लामो सशस्त्र द्वन्द्व पार गर्दै ठूलो बलिदानपछि स्थापित भएको स्मरण गराइएको छ। सरकार सञ्चालनका क्रममा केही कमजोरी देखिए पनि यो व्यवस्थाभन्दा उत्तम विकल्प नभएको परिषद्को निष्कर्ष छ।
परिषद्ले व्यक्ति–केन्द्रित राजनीति र अवाञ्छित देवत्करणले अन्ततः व्यक्तिवाद र निरङ्कुशता जन्माउने खतरा औँल्याउँदै बलियो संगठन, जनाधार र प्रणालीबिनाको नेतृत्वले लोकतन्त्रमा अपेक्षित योगदान दिन नसक्ने स्पष्ट पारेको छ।
अपिलमा वि.सं. २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक योगदान स्मरण गर्दै, पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको विचार, सिद्धान्त र विरासतलाई आत्मसात गर्दै अघि बढेको नेकपा (एमाले) काभ्रेली जनताको रोजाइको पहिलो पार्टी रहेको दाबी गरिएको छ।
यसै सन्दर्भमा परिषद्ले प्रतिनिधिसभा क्षेत्र नं. २ बाट नेकपा एमालेका उमेद्वार अशोक व्याञ्जू र क्षेत्र नं. १ बाट नेकपा एमालेका उम्मेदवार अमित लामा, साथै समानुपातिकतर्फ सिफारिस भएका सुमित्रा भोछिभोया , इन्द्र तामाङ र भक्तकुमारी लामा लाई नेकपा (एमाले) का तर्फबाट सक्षम, इमानदार र जिल्लाको समृद्धिमा योगदान दिन सक्ने उम्मेदवारका रूपमा प्रस्तुत गर्दै सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेको छ।
परिषद्ले निर्वाचनलाई भयरहित, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सरकारसमक्ष माग गर्दै भनेको छ, “आवधिक निर्वाचन नै लोकतन्त्रको सुन्दर पक्ष हो। यही प्रक्रियाबाट जनताको सर्वोच्चता स्थापित हुन्छ।”
नेपाल बौद्धिक परिषद्, काभ्रेपलाञ्चोक जिल्ला समितिले अन्त्यमा संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, सुशासन, समृद्धि, राष्ट्रिय स्वाधीनता र काभ्रेको समग्र विकासका लागि प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ सूर्य चिन्हमा मतदान गर्न सम्पूर्ण काभ्रेली मतदातालाई पुनः हार्दिक अपिल गरेको छ।
-
Jigyasanepal