काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । शनिबार बसेको राप्रपाको निर्देशन समितिको बैठकले सो निर्णय गरेको राप्रपाले जनाएको छ ।
बैठकले प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले एक विज्ञप्तिमार्फत जनाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । यसैको विपक्षमा राप्रपाले मतदान गर्ने भएको हो ।
शनिबार पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाले वर्तमान संविधानले काम गर्दैन भनिरहेको परिस्थितिमा संविधान संशोधनको एजेन्डा सहित मूलतः नेपाली कांग्रेस र नेकपा (एमाले) ले निर्माण गरेको नयाँ सरकारलाई प्रारम्भिक रूपमा सकारात्मक हिसाबले लिएको भए पनि तत्पश्चात्का सम्पूर्ण गतिविधिहरूको विश्लेषण गर्दा, राप्रपाले आइतबार संसद्मा प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको छ ।’
- Jigyasa media