काठमाडौं, मंसिर ७ - प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कानुन विपरीतका कार्य र अपराध गर्नेहरूलाई सरकारले नछोड्ने बताएका छन्।
काठमाडौं उपत्यकाका तीन जिल्ला कमिटीले दरबारमार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै ओलीले स्थिरता र सुशासनका लागि सोच-विचार गरेरै एमाले र नेपाली कांग्रेसले सरकार बनाएको भन्दै सरकार गलत गतिविधिहरू नियन्त्रण गर्न सक्षम रहेको उल्लेख गरे।
ओलीले आफ्नो पार्टीविरुद्ध अनेक हल्ला चलाइएको तर एमाले भ्रममा नपर्ने स्पष्ट पारे। “कागले कान लग्यो भन्दैमा कागका पछाडि दौडनु जरुरी छैन,” उनले भने, “आफैँ सहकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने काम सह्य हुँदैन। नेपाली जनता भ्रममा पर्दैनन्। हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्प पूरा गर्न दृढ छौं।”
अध्यक्ष ओलीले अलोकतान्त्रिक र अराजक गतिविधिबाट समाजलाई विभाजन गर्ने प्रयास भइरहेको भन्दै यस्तो कार्यले जनताको भविष्यलाई जोखिममा पार्न खोजेको बताए। “देश र जनता नै हाम्रो प्राथमिकता हुन्, त्यसमा एकताबद्ध भएर लाग्नुपर्छ,” उनले भने।
प्रधानमन्त्री ओलीले आफ्नाविरुद्ध भ्रष्टाचारको आरोप लगाउनेहरूलाई प्रत्यक्ष बहसमा आउन चुनौती दिएका छन्। उनले भने, “आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपार्नेहरूले मलाई आरोप लगाउँदै हिँडेका छन्। म चुनौती दिन्छु, बहस गरौं।”
ओलीले सरकारलाई कमजोर बनाउने र समाजमा विद्वेष फैलाउने कुनै पनि प्रयास असफल हुने दाबी गरे। उनले भने, “देशको अर्थतन्त्रलाई कमजोर बनाउने उद्देश्यले ऋण नतिर्नु र उद्योगको बक्यौता नउठाउनेजस्ता गतिविधि गरिएका छन्। यस्ता गतिविधिहरूलाई सरकारले निरुत्साहित गर्नेछ।”
उनले सरकारको वर्तमान समीकरणलाई कसैले हल्लाउन नसक्ने समेत ठोकुवा गरे।
- Jigyasa media