काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि दान गरेको जग्गासम्बन्धी रिट सर्वोच्च अदालतमा हेर्न नमिल्ने सूचीमा परेको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेश गरिएको यो मुद्दा, गुरुङ ललिता निवास प्रकरणसँग सम्बन्धित रहेकोले सुवेदीले आफूले हेर्न नमिल्ने निर्णय गरेका छन्।
उक्त रिट अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेका थिए, जसमा एमालेले गुरुङबाट लिएको जग्गा कानुनविपरीत भएको दाबी गर्दै उक्त दान र त्यसमा भइरहेको भवन निर्माण रोक्न माग गरिएको थियो।
यसअघि यो रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिसकेको थियो, तर न्यायाधीश तीलप्रसाद श्रेष्ठको आदेशपछि पुनः दर्ता गरिएको थियो। गुरुङले आफ्नो श्रीमतीसहित कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा दान गरेका थिए, जहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीले असोज २५ गते पार्टी कार्यालय भवनको शिलान्यास गरेका थिए।
- Jigyasa media