काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आज (पुस १३) र भोलि (पुस १४) राजनीतिक दलहरूलाई समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्द सूची पेस गर्न समय दिएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार यी दुई दिनभित्र दलहरूले आफ्नो बन्द सूची आयोगमा बुझाउनुपर्ने व्यवस्था गरिएको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्धारित समयमै बन्द सूची पेस गर्न सबै दललाई आग्रह गरिएको छ।
यद्यपि, केही राजनीतिक दलहरूले भने बन्द सूची पेस गर्ने समयतालिका केही दिन पर सार्न सरकारलाई आग्रह गर्दै आएका छन्। यसै सन्दर्भमा शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको तालिका केही दिन पछाडि सार्नुपर्ने प्रस्ताव राखेका थिए।
आयोगको कार्यतालिकाअनुसार आज र भोलि पेस हुने बन्द सूचीको पुस १५ गतेदेखि २० गतेसम्म छानबिन गरिनेछ। त्यसपछि पुस २१ गतेदेखि २७ गतेसम्म आयोगले दलहरूलाई आवश्यक सुधार र मिलानका लागि समय दिनेछ।
त्यसैगरी, पुस २८ गतेदेखि माघ ३ गतेसम्म मिलाइएको बन्द सूची ठीक छ वा छैन भन्ने विषयमा आयोगले पुनः परीक्षण गर्नेछ भने माघ ४ गते बन्द सूची सार्वजनिक गर्ने कार्यतालिका छ। अन्ततः माघ २० गते अन्तिम बन्द सूची प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।
यसपटकको निर्वाचनका लागि १०० वटा राजनीतिक दलले ९३ वटा चुनाव चिह्नमार्फत समानुपातिक प्रणालीमा सहभागी हुन दर्ता गराइसकेका छन्। समानुपातिक बन्द सूची पेस गर्ने यो चरणलाई निर्वाचन प्रक्रियाको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।
निर्वाचन आयोगले तोकेको कार्यतालिका समयमै कार्यान्वयन भए आगामी निर्वाचन प्रक्रिया थप व्यवस्थित, पारदर्शी र विश्वासिलो हुने अपेक्षा गरिएको छ।
-
Jigyasanepal