
✍🏼निर्भीकजंग रायमाझी
०००
मेरो त
निधारै अक्करे भीरजस्तो छ
नाम्लोको डाम र ढुङ्गाको खत कुँदिएको ।
यो थाप्लामा
पसिना पनि अडिन मान्दैन
लत्रँदै नाकबाट सुकेको ओठ भिज्न आइपुग्छ
म माटो लागेकै हातले पुछिदिन्छु निधार
तिम्रोजस्तो पङ्खा बनाउन
कहाँ छ र मसँग टोपी
म बिसु पासवान
यही माटो उधिनेर जीवन बित्न लागिसक्यो
एक थान टोपी किन्न सकेको छैन ।
मैले त फेटा गुथेर शिरलाई
शीतलहरबाट बचाइरहेको छु
चप्पलसँग चुरा–पोते साट्न
टाउकोमाथि कुम्लो बोकी
डमरू बजाउँदै पहाडको उकालो चढिरहेको छु ।
लजाइलजाइ लगाएको थिएँ टोपी
पहाडबाट भगाएर दुलही
शिव–मन्दिरमा सिन्दुर हाल्न लाग्दा
पुजारी बा’ कड्केपछि लगाएको थिएँ
त्यो पनि मधेस झर्दा चुरेमै हरायो
यति वर्षपछि
आज अचानक तिम्रो सहरले
मेरो नाङ्गो टाउको अराष्ट्रिय घोषणा ग¥यो
के गर्नू आफ्नो त
निधारै अक्करे भीरजस्तो
माफ गर्नुस् सरकार !
तपाईँको राष्ट्रिय गीतले भनेझैँ
मेरो टोपी कैलाशको शिरजस्तो छैन ।
०००
- Jigyasa media