काठमाडौं — वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकका परिवारले पाउने राहत रकमलाई सरकारले वृद्धि गर्दै १० लाख पुर्याएको छ। यसअघि यो राहत ७ लाख रुपैयाँ मात्र थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार, असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन गर्दै यो नयाँ राहत योजना पारित गरेको हो।
यो राहत योजना वैदेशिक रोजगारमा गएका श्रमिकहरूको कल्याणकारी कोषमा आधारित रहेको छ। साथै, मृतकका परिवारलाई शव नेपाल ल्याउने, घरसम्म पुर्याउने र दाहसंस्कारका लागि थप २५ हजार रुपैयाँ समेत प्रदान गरिन्छ। मृतकका दुई सन्तानलाई छात्रवृत्ति सुविधा पनि उपलब्ध गराइन्छ।
बोर्डका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा मात्रै ३,८०० श्रमिकले ज्यान गुमाएका छन्। विज्ञहरूले राहत रकमको यो वृद्धि सकारात्मक रहेको जनाएका छन्, तर यसलाई दीर्घकालीन राहत प्याकेजमा परिणत गर्नुपर्ने सुझाव दिएकाछन्।
- Jigyasa media