भैरहवा – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध रूपमा सुन ल्याउने क्रममा तीन जनालाई पक्राउ गरेको छ। दुबईबाट फ्लाई दुबईको उडानमार्फत आएका लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का ३६ वर्षीय जनार्दन गुप्ताको साथबाट १५० ग्राम सुन बरामद भएको हो।
गुप्तालाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले आइतबार दिउँसो नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा गुप्तासँगै संलग्न रहेको आशंकामा थप दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
बरामद गरिएको सुनको स्रोत र यससँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ। प्रहरीका अनुसार गौतमबुद्ध विमानस्थलमा यस प्रकारको सुन तस्करी नियन्त्रणका लागि सुरक्षा निगरानी कडा बनाइएको छ।
साँगाबाट आधा किलो सुनसहित दुई पक्राउ
बनेपा – काभ्रेको बनेपा नगरपालिका–१३ स्थित साँगा चोकबाट ५५८ ग्राम सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रोशी गाउँपालिका–९ का ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ का २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन्। आइतबार साँझ काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कार जाँच गर्दा सिटमुनि लुकाएर राखिएको प्लास्टिकको झोलामा सुन फेला परेको हो।
प्रहरीले सुनसहित कारका चालक बसन्त र सवार अमृतलाई नियन्त्रणमा लिएको छ। अवैध रूपमा सुन ओसारपसार भइरहेको सूचना पाएपछि गरिएको जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।
दुवै घटनामा प्रहरीले सुन ओसारपसारमा संलग्न अन्य व्यक्तिहरू र सम्भावित नेटवर्क पत्ता लगाउन अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।
- Jigyasa media