काठमाण्डौ ।
अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार संयुक्त रूपमा तीन अमेरिकी अर्थशास्त्रीहरूलाई प्रदान गरिने भएको छ। म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, साइमन जोन्सन र शिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई यो प्रतिष्ठित सम्मान प्रदान गर्न चयन गरिएको छ।
पुरस्कार समितिका अनुसार, उनीहरूको अध्ययनले ‘संस्थाहरूको निर्माण र त्यसले आर्थिक समृद्धिमा पार्ने प्रभाव’ विषयलाई गहन रूपमा अनुसन्धान गरेको छ। विशेष रूपमा, युरोपेली उपनिवेशवादले विभिन्न देशहरूको आर्थिक अवस्थामा पार्ने असरबारे गरिएको विश्लेषणका कारण उनीहरूलाई यो पुरस्कार दिइएको हो।
पुरस्कार समितिका अध्यक्ष ज्याकोब स्वेन्सनले भन्नुभयो, “देशहरूबीचको आय असमानतालाई घटाउनु हाम्रो युगको महत्त्वपूर्ण चुनौती हो, र सामाजिक संस्थाहरूले यसमा महत्त्वपूर्ण भूमिका खेल्छन् भन्ने बुझाइलाई विजेताहरूले समर्थन गरेका छन्।”
सन् १९६९ देखि सुरु भएको यस विधाको पुरस्कारमा अहिलेसम्म ५६ पटकसम्म ९६ जना व्यक्तिहरूलाई पुरस्कृत गरिएको छ, जसमध्ये तीन जना महिलाहुन्।
- Jigyasa media